चुनावअघि नै कांग्रेसको महाधिवेशन हुनुपर्छ : केन्द्रीय सदस्य गौतम

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीको महाधिवेशन नगरी संसदीय चुनावमा जान नहुने प्रस्ट पारेकी छिन्। शुक्रबार केन्द्रीय समिति बैठकमा गौतमले महाधिवेशन नगरी चुनावमा गए संगठन कमजोर हुने धारणा राखिन्।

‘पार्टीको महाधिवेशन सम्पन्न नगरी संसदीय चुनावमा जानुहुँदैन। महाधिवेशनपछि मात्र चुनावमा जाने निर्णयले पार्टीभित्र जनादेश नयाँ नेतृत्वसँग हुनेछ भन्ने सन्देश दिन्छ,’ उनले भनिन्। बैठकमा उनले जेन–जी आन्दोलनले देखाएको असन्तोष र पार्टीभित्र महाधिवेशनको मागलाई आत्ममूल्यांकन गर्नुपर्ने उनले बताइन्।

नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन पनि पुस २९ भित्रै हुनुपर्ने गौतमको धारणा छ। नेतृत्व परिवर्तन नगरी चुनावमा गए पार्टी कमजोर हुने भन्दै उनले भनिन्, ‘पुरानै नेतृत्वले अस्थायी रूपमा चुनावमा जान खोज्नु नेतृत्व संक्रमणलाई अनिश्चित बनाउने र संगठनलाई कमजोर पार्ने गल्ती हुनेछ।’

साथै गौतमले ०४६ सालपछि पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न, युवापुस्तालाई नेतृत्वमा ल्याउन अवसर दिन पनि गौतमले सुझाव दिएकी छिन्।

सुझावित समाचार