राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सेवाप्रवाह सुदृढीकरणका लागि जेन–जी सप्तरी समूहले १०बुँदे माग गरेको छ। अस्पताल प्रशासनसँग स्वास्थ्य सेवा सुधार, सरसफाइ र सहज औषधि आपूर्तिलगायतका माग गर्दै ज्ञापनपत्र बुझाइएको हो।
अस्पतालको नवजात शिशु सघन कक्षलाई १५ शय्याको बनाउने र हाल स्थगित एचडियूको ३० शय्या सेवा पुनः सञ्चालनमा ल्याउन माग गरिएको छ। निःशुल्क औषधिका लागि छुट्टै काउन्टर सञ्चालन गर्न र स्वास्थ्य बिमा योजनाअन्तर्गत आवश्यक सबै प्रकारका औषधि सहज रूपमा उपलब्ध गराउनसमेत जेन–जीले माग गरेका छन्।
अस्पतालमा निर्मित नयाँ भवनबाट शीघ्र सेवाप्रवाह सुरु गर्नुपर्ने, अस्पतालपरिसरमा शुद्ध खानेपानीको थप सुविधा उपलब्ध गराउनुपर्ने, विद्यार्थीहरूको पहुँचलाई ध्यानमा राख्दै हरेक परीक्षण र औषधिमा कम्तीमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउनुपर्ने, आपतकालीन (इमर्जेन्सी) विभागमा चिकित्सकहरू २४ घण्टा उपस्थित रहने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै अस्पताल प्रशासनले शीघ्र माग सम्बोधन गर्न पहल सुरु गर्ने प्रतिक्रिया दिएको छ।