साँफेका आगलागीपीडितलाई सुदूरपश्चिम सरकारले आर्थिक सहयोग गर्ने

बिहिबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका– ३, हाटबजारमा गत शनिबार राति  भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा बुधबार बसेको प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

साँफेबगरमा नगरपालिकामार्फत तत्कालका लागि पीडितलाई आठ लाख आर्थिक सहयोग गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नगरपालिकालाई मापदण्ड बनाएर उक्त सहायता रकम पीडितलाई वितरण गर्न भनिने कार्यालयको भनाइ छ ।

स्थानीय प्रशासनका अनुसार आगलागीबाट एउटा घर र नौवटा पसलमा क्षति पुगेकोमा सातवटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले गत भदौ महिनामा दार्चुला जिल्लाको व्यास गाउँपालिका– १, टिंकर र छाङरू क्षेत्रमा बाढीपहिरोबाट क्षतिग्रस्त भएका पुलहरू तत्काल पुनर्निर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

त्यस्तै, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका तथा बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधराचाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमण हुने, मानवीय र बालीनाली हुने क्षति न्यूनीकरणका लागि रोकथामका उपायहरू अवलम्बन गर्न, प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षा उपकरण वितरण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 
 

सुझावित समाचार