घरेलु टोली झापा एफसी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । घरेलु मैदानमा झापा बुधबार एफसी संकटा क्लबसँग ६–० ले पराजित भयो । दुधे रंगशालामा भएको खेलमा जितसँगै संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले अब फाइनल प्रवेशका लागि शुक्रबार नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । संकटाको जितमा पूर्णिमा राईले दुई गोल गरेकी थिइन् । झापाको पोस्टमा सेनु परियार, समीक्षा मगर, छिरिङ वाङदेन र अनुष्का स्याङ्तानले समान एक गोल गरे ।
महिला लिगमा छनोट भएको झापा एफसीविरुद्ध संकटाले सुरुदेखि आक्रामक खेल्यो । संकटा पनि महिला लिगमा स्थान बनाएको टोली हो । पछिल्लो समय उमेर समूहको महिला राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको संकटा झापाविरुद्ध कुनै पनि समयमा कमजोर देखिएन । संकटाले पहिलो हाफमा २–० को अग्रता लियो । संकटाका लागि दोस्रो गोल समीक्षाले गरिन् । उनले सुनिता भुलानको क्रसमा डिबक्समा अनमार्क रहँदै गोल गरेकी हुन् । झापा अनुभवी खेलाडीविना उत्रिएको थियो । यसको फाइदा लिँदै संकटाले दोस्रो हाफमा थप चार गोल गर्यो । खेलको ५५औँ मिनेटमा संकटाकी भुटानी खेलाडी छिरिङले ३–० का लागि गोल गरिन् । उनले पूर्णिमाको पासमा गोल गरेकी हुन् । खेलको ६०औँ मिनेटमा संकटाकी सेनुको कटब्याकमा डिबक्समा अनमार्क रहेकी पूर्णिमाले ४–० को लागि गोल गरिन् । खेलको ८३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन् ।
आक्रामक पंक्ति कमजोर देखिएको झापाले पाएको केही अवसर सदुपयोग गर्न सकेन । खेलको ८९औँ मिनेटमा झापाकी पुष्पा खड्काले संकटाकी गोलरक्षक सुशीलाकुमारी चौधरीसँग वान भर्सेस वानमा गोल गर्न सकिनन् । ८८औँ मिनेट झापाकी पियाली रोयले गोल गर्न सकिनन् । बिहीबार त्रिभुवन आर्मी र आरएस पोखरा एफसीबिच खेल हुनेछ ।
सहज जित निकाल्ने आत्मविश्वास थियो : रवीन्द्र सिलाकार, प्रशिक्षक, संकटा
यसअघि लिग छनोटमा झापासँग पनि खेलिसकेका थियौँ । जसकारण खेल्न गाह्रो हुनेछैन भन्ने आत्मविश्वास थियो । अब सेमिफाइनल पुलिससँग खेल्दै छौँ । पुलिससँग पहिलोपटक खेल्न लागेको होइन । यसअघि पनि खेलेका छौँ । अघिल्लो सिजनमा संकटाले पुलिसलाई नुवाकोटमा चुनौती दिइसकेको थियो । त्यसवेला सानो गल्तीले पराजित भयौँ । पुलिसँग यो सेमिफाइनलमा टक्कर नै पर्छ ।
संकटाविरुद्ध तयारी पुगेन : सन्देश श्रेष्ठ, प्रशिक्षक, झापा
संकटाको सेट राम्रो छ । लिग छनोट खेलेदेखि प्रशिक्षण पनि नहुँदा टिम सेट हुन सकेकै थिएन । खेलाडी फिट थिएनन् । हामीले यो खेलका लागि मात्र खेलाडी बोलाएका थियौँ । लिग खेलेका खेलाडी धेरै थिएनन् । नजिकका खेलाडी बोलाएर खेलेका हौँ । हाम्रो तयारी कम भयो । झापाकै टिम भएर प्रतिनिधित्व गर्न मात्र सहभागी भएका हौँ । गल्तीले पहिलो र दोस्रो गोल खाएपछि खेलाडीमा निराशा पनि आयो ।