बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्न युवाहरूको संख्या न्यून रहेको छ । निर्वाचन आयोगले १० असोजबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरे पनि कार्यालय गएर नाम दर्ता गर्नेको संख्या निकै कम रहेको छ ।
सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी गरेको छ। त्यसका लागि आयोगले १० असोजबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । नाम दर्ता गर्न निर्वाचन कार्यालयमा गएर कात्तिक मसान्तसम्म नाम दर्ता गर्नुपर्छ। त्यसपछि मात्र निर्वाचनमा मतदान गर्न पाइन्छ।
१० असोजदेखि १५ कात्तिकसम्म कार्यालय गएर ५८४ जना नयाँ मतदाताले नाम दर्ता गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले जानकारी दिए। उनले भने, ‘आर्थिक वर्ष ०८२-८३ मा मतदाता नामावली दर्ता १० असोजबाट मतदाता नामावली नाम दर्ता गर्न थालिएको हो।’
बर्दियामा आर्थिक वर्ष ०८२-८३ मा १५ कात्तिकसम्म नयाँ नागरिकता लिने दुई हजार ८६५ जना रहेको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत विमल गुरुङले बताए । यसरी नागरिकता लिने र मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या हेर्दा निर्वाचनमा युवाहरूको रुचि खासै देखिँदैन। राष्ट्रिय जनगणना ०७८ को तथ्यांकअनुसार बर्दियाको जनसंख्या चार लाख ५९ हजार ९ सय रहेको छ भने १५ कात्तिकसम्म १८ वर्ष पूरा भएर मताधिकारको प्रयोग गर्न पाउनेको संख्या तीन लाख १७ हजार तीन सय ३४ जना रहेका छन्।