पोखरा सहकारीको ८८ करोड ७० लाख हिनामिना आरोपमा अध्यक्षसहित आठजना पक्राउ

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

पोखराको अर्को एक सहकारीमा ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ ठगी एवं हिनामिना आरोपमा आठजना पक्राउ परेका छन्। प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा बुधबार सहकारीका अध्यक्षसहित आठजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष पोखरा–१० स्थित अमरसिंहचोक बस्ने सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष पोखरा–११ फूलबारी बस्ने शम्भुराज बाँस्तोला, सचिव पोखरा–११ स्थित फूलबारी बस्ने दिलबहादुर केसी, कोषाध्यक्ष एवं ऋण संयोजक पोखरा–१४ स्थित चाउथे बस्ने हिरामणि दाहाल, व्यवस्थापक तनहुँको म्याग्दे गाउँपालिका घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने भीष्मप्रसाद गुरुङ, सञ्चालक समिति सदस्य पोखरा–१७ बिरौटा बस्ने दोर्जे तामाङ, सञ्चालक समितिका पूर्वसचिव पोखरा–९ नयाँबजार बस्ने ईन्द्रप्रसाद र पोखरा–३ तेर्सापट्टी बस्ने सहकारीका बजार प्रमुख एवं सुपरभाइजर बेदीप्रसाद सुवेदी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीले जरूरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । ६ भदौ ०७८ मा गोदारको नेतृत्वमा सञ्चालक समिति निर्वाचित भएको थियो भने त्यसअघि आशबहादुर गुरुङ, फणिन्द्रराज शर्मा, विजय महर्जन अध्यक्ष भएका थिए ।

उनीहरूलाई पक्राउ गर्नुअघि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले एक समिति बनाएर सहकारीको वित्तीय अवस्थाबारे अध्ययन एवं छानबिन गरेको थियो । छानबिनपछि तयार पारेको प्रतिवेदनअनुसार सहकारी रजिस्ट्रारको कार्यालयले ठगी एवं हिनामिनामा संलग्न देखिएकाहरूलाई कारबाही गर्न १८ कार्तिकमा वित्तीय विश्लेषण प्रतिवेदनसहित प्रहरी कार्यालय कास्कीलाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

०५९ सालमा स्थापना भएको सहकारीको पोखरा–९, नयाँबजारमा प्रधान कार्यालयसँगै पोखरा–१०, अमरसिंह चोक र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरू सञ्चालन गर्दै आएको छ । सहकारीमा तीन हजार ५६ सेयर सदस्यहरू रहेका सहकारीको अभिलेखमा उल्लेख छ । सहकारीका बचतकर्ताहरूले केही समयदेखि बचत रकम नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएपछि एक समिति बनाएर सहकारीको अवस्थाको बारेमा छानबिन गरिएको थियो।

छानबिनका क्रममा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरूसमेत मिलेर रकम हिनामिना गरेको, पदाधिकारीले व्यक्तिगत सम्पत्ति आर्जनमा सहकारीको रकम खर्च गरेको, बिनाधितो कर्जा प्रवाह गरेको, पेस्की खाताहरू खोली कारोबार गरिएको, नक्कली खाता खोलेर बचत अपचलन गरिएको, सहकारीको नीति–नियमविपरीत जोखिमपूर्ण तरिकाले कर्जा लगानी गरेको, गैरसदस्यलाई ऋण लगानी गरिएकोलगायतका समस्या भेटिएपछि संलग्नहरूलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान एवं कारबाही गर्न वित्तीय विश्लेषक निर्मल गौतमको समितिले सिफारिस गरिएको थियो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरेको बस्नेतले बताए ।

सुझावित समाचार