यतिखेर कम्युनिस्ट पार्टीहरू जुटिरहेका हुन् कि फुटिरहेका हुन् ?
भदौरे चट्याङपछि दलहरू अस्तित्वको आत्मसमीक्षा गर्नुपर्ने तहमा पुगेका छन् । सोही चट्याङको परकम्पका रूपमा सम्पूर्ण दलहरूभित्र अन्तरविरोध सुरु भएको छ । आफूलाई संस्थापन भन्ने समूह र पार्टीभित्र आफूलाई संस्थापनइतर धार मान्ने समूहबीच घर्षण सुरु भएको छ । सोही परकम्प र घर्षणका कारण दलपतिहरूले एकताको तुरुप फ्याँकेका हुन् । दलपतिहरूले दलभित्र आन्तरिक लोकतन्त्र कायम गर्न चाहिरहेका छैनन् । जब दलभित्र आन्तरिक लोकतन्त्र, कार्यकर्ताको उचित मूल्यांकन, पारदर्शिता, स्रोत र अवसरमा समान सहभागिताको अभाव हुन्छ, तब यस्तो जुट र फुट चलिरहन्छ ।
कम्युनिस्ट पार्टीहरू जुट्ने क्रममा किन छिन्नभिन्न हुन्छन् ?
कम्युनिस्ट पार्टी, तिनका नेता र कार्यकर्ता गर्भमै फुटको बीज बोकेर जन्मिन्छन् । यो टुटफुट वामपन्थी राजनीतिकै गम्भीर रोग हो । सबैले आफूलाई शुद्ध कम्युनिस्ट र अरूलाई गद्दार देख्नु पनि कम्युनिस्ट राजनीतिकै रोग हो । त्यसैले, यिनीहरू जहिल्यै अमिवाजस्तो भित्रभित्रै आफैँ खिइँदै गइरहेका हुन्छन् । वेलावेलामा एकताको राग अलाप्न नछाडे पनि यथार्थमा यिनीहरू एकतामा भन्दा फुटमा बढ्ता रमाइरहेका देखिन्छन् ।
यो जुट र फुटले कम्युनिस्ट आन्दोलनलाई कति बल देला ?
जुट र फुट कम्युनिस्टको सार्वभौम चरित्र नै हो । जबजब आफ्नो अस्तित्वमा संकट मडारिन थाल्छ, यिनीहरू एकताका लागि ज्यान फालेर लाग्छन् । तर, अलि बलियो हुनासाथ अरूले छाडेर गइदिए हुन्थ्योजस्तो गर्न थाल्छन् । त्यसैले, उनीहरू जब दुई कदम अघि बढ्छन्, तब एक कदम पछि हट्छन् । सिसिफसको नियति बाँच्नु नै कम्युनिस्टहरूको चरित्र हो । तर, यसले गर्दा समाजवादको स्थापना र सर्वहाराको वर्चस्व स्थापना गर्ने कार्यभार जहिल्यै अपूरो बन्दै आएको छ ।