गण्डकीले दुई अर्ब ५० करोड बजेट कटौती गर्ने

१५ शीर्षकमा २० देखि शतप्रतिशतसम्म बजेट कटौती

बुधबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२/८३ मा विनियोजन गरेको कुल बजेटमा दुई अर्ब ५० करोड कटौती गर्ने भएको छ । २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि सिर्जना भएको अवस्थाका कारण संघ सरकारले २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेपछि प्रदेशले समेत सोहीअनुसार बजेट कटौती गर्ने निर्णय गरेको हो । 

गण्डकीले चालू आर्थिक वर्षका लागि चालूतर्फ १२ अर्ब ६३ करोड ६६ लाख अर्थात् कुल बजेटको ३९.५ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कुल बजेटको ५९.७ प्रतिशत बजेट विनियोजन गरेको थियो । त्यस्तै, वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात् कुल बजेटको ०.८ प्रतिशत गरी ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको थियो । सोही बजेटबाट दुई अर्ब ५० करोड कटौती गर्ने तयारी भएको गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले जानकारी दिए । 

गण्डकीका आर्थिक मामिला मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालका अनुसार चालू खर्चमा मात्र कटौती गरेको, तर पुँजीगततर्फको बजेट भने चलाइएको छैन । संघ र प्रदेश दुवै सरकारको राजस्व अनुमान गरिएअनुसार उठ्न सक्ने अवस्था नरहेको र जेन–जीको प्रदर्शनका क्रममा भएका क्षतिको पुनर्निर्माणसमेत गर्नुपर्ने भएकाले बजेट कटौती गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

कुन–कुन शीर्षकमा गरियो बजेट कटौती ?
गण्डकी सरकारले विभिन्न १५ शीर्षकमा २० देखि शतप्रतिशतसम्म बजेट कटौती गर्ने निर्णय गरेको छ । जसअनुसार सवारीसाधन खरिद, मेसिनरी औजार खरिद (स्वास्थ्य सामग्रीबाहेक) क्षति नभएका कार्यालयहरूको, फर्निचर (क्षति नभएका कार्यालयहरूको) र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बिदा पर्यटन कार्यक्रमको गरी चार शीर्षकको बजेट शतप्रतिशत र सफ्टवेयर खरिदमा ८० प्रतिशत बजेट कटौती हुने भएको छ । 

यसैगरी, मेसिनरी औजार (क्षति नभएका कार्यालयहरूको), निर्मित सार्वजनिक सम्पत्ति मर्मत (क्षति नभएका कार्यालयहरूको), चालू कार्यक्रम (अध्ययन–अनुसन्धान, जनचेतनामूलक तालिम, गोष्ठी, सेमिनार, अन्तक्र्रिया, भ्रमण, सूचना, प्रकाशनको), अनुगमन मूल्यांकन, भ्रमण खर्च र पत्रपत्रिकामा सूचना छपाइ गरी ६ शीर्षकको ५० प्रतिशत बजेट कटौती गरिएको छ ।

See More On

सुझावित समाचार