आइसिसी विश्वकप लिग २ अन्तर्गत दुबईमा चलिरहेको सिरिजमा नेपाली राष्ट्रिय पुरुष टोली जितविहीन छ । सिरिजमा नेपालले बुधबार घरेलु टोली युएईविरुद्ध खेल्दै छ । सुरुवाती दुई खेलमा नेपालले खराब ब्याटिङ र बलिङ प्रदर्शन गरेको थियो । तेस्रो खेलमा शीर्ष स्थानमा रहेको अमेरिकाविरुद्ध उत्कृष्ट ब्याटिङ गरे पनि फिल्डिङ र बलिङमा फितलो प्रदर्शन भएपछि हारको सामना गर्यो । लगातार तीन खेलमा हार सामना गरेको नेपाल कम्तीमा एक जितका साथ युएईको भ्रमण सकाउने पक्षमा देखिन्छ ।
अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लको प्रशिक्षणमा रहेको नेपालले यसपटक सबै क्षेत्रमा गतिलो प्रदर्शन सकिरहेको छैन । नेपाल १९ खेलमा १२ अंक जोडेर सातौँ स्थानमा छ । युएईमा नेपालले आफूअनुकूल नतिजा निकाल्दा नामिबियालाई पछि पार्ने अवसर थियो । साथै, नेपालको एकदिवसीय विश्वकप छनोट यात्रा तय गर्न सिरिजका बाँकी सबै खेल महत्वपूर्ण रहनेछ ।
पावर प्ले र डेथ ओभर बलिङ समस्या
टी–२० वा एकदिवसीय खेलमा एउटै समानता छ । पावर प्ले तथा डेथ ओभरमा नेपालका अनुभवी बलरले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् । यसै दुई पक्षमा अमेरिका र युएईका ब्याट्सम्यानले फाइदा उठाए ।
अमेरिकासँगको दोस्रो खेलमा नेपालले अन्तिम १० ओभरमा ७१ रन दिएको थियो । यही नै हारको प्रमुख कारण बन्यो । यसैगरी, पहिलो खेलमा पनि अमेरिकाले नेपालविरुद्ध अन्तिम १० ओभरमा ९१ रन खोसेको थियो । लक्ष्य पछ्याउँदा नेपालका ब्याट्सम्यानले फिनिसिङ टच गर्न सकेका छैनन् । नेपालका कप्तान रोहित पौडेलले अमेरिकासँगको खेलपछि खेलाडीहरू फिनिसिङमा चुकेको बताएका थिए । ‘अहिले मुख्य समस्या नै फिनिसिङ नहुनु हो,’ उनले भने, ‘साथै डेथ ओभर पनि त्यति राम्रो भएको छैन ।’
टी–२० फर्म्याटमा बढी केन्द्रित
नेपाल क्रिकेट संघ (क्यान)ले पछिल्लो चार महिना खेलाडीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त बनाएको थियो । यद्यपि, खेलाडी टी–२० आई र सिरिजमै केन्द्रित भए । क्यान र खेलाडीहरूको एउटै लक्ष्य थियो लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक आइसिसी पुरुष टी–२० विश्वकपमा छनोट हुने । तेस्रोपटक टी–२० विश्वकप खेल्ने नेपालको सपना पूरा भयो । तर, खेलाडीहरू आक्रामक रूपमा प्रस्तुत हुने टी–२० फर्म्याटमै बढीजसो समय बिताउँदा यसको असर एकदिवसीय खेलमा प्रस्ट देखियो । नेपालले पछिल्लो चार महिनादेखि ५० ओभरको कुनै खेल वा अभ्यास खेलेन । स्कटल्यान्डमा भएको लिग दुई खेलछि नेपाली टोलीले एकदिवसीय खेल नै खेलेन ।
अहिले चलिरहेको सिरिजमा नेपालको प्रमुख कमजोरी नै ब्याटिङ हो । शीर्षदेखि मध्यक्रमका खेलाडीहरूले तीन वटै खेलमा गतिलो साझेदारी बनाउन सकेनन् । प्रत्येक विकेटका लागि राम्रो साझेदारी बन्दा विपक्षीलाई ठुलो चुनोती वा लक्ष्यसमेत पछ्याउन सकिन्छ । अमेरिकाले पहिलो खेलमा मध्यम योगफल दिँदा पनि नेपाली खेलाडी निर्धारित ५० ओभरसम्मै क्रिजमा टिक्न सकेनन् ।