नेपाल बास्केटबल संघको सहकार्य र एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा बुधबारदेखि समृद्धि खुला महिला बास्केटबल च्याम्पियनसिप हुँदै छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने च्याम्पियनसिपमा सिनियर र जुनियरतर्फ समान चार टोलीको सहभागिता रहने संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए ।
प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रहने उनले बताए । संघले पहिलोपटक महिलाको सिनियर र जुनियरका प्रतियोगिता एकसाथ गराउन लागेको हो । यही प्रतियोगिताको समयमा नेपालका केही टोली सिक्किममा हुने बास्केटबल प्रतियोगिता पनि खेल्न गएकाले थोरे टिम सहभागी भएको गुरुङले बताए ।
२४ कात्तिकसम्म हुने च्याम्पियनसिपमा सिनियरतर्फ डबल राउन्ड रोविन र जुनियरको एकल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ । सिनियर विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउनेछन् । जुनियरतर्फ भने पुरस्कारको राशि राखिएको छैन ।