दोलखाको रोल्वालिङ हिम श्रृंखलाअन्तर्गतको यलुङ री हिमालमा गएको हिमपहिरोमा परेका आरोहीमध्ये दुई नेपालीको शव फेला परेको छ। पाँचजना विदेशी आरोही भने अझै बेपत्ता छन्।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार उद्धार टोलीले कठिन भौगोलिक परिस्थितिबिच दुई नेपाली पथप्रदर्शकको शव निकाल्न सफल भएको हो। सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका– ५ का मेरे कार्की र दोलखा गौरीशंकर गाउँपालिका– ९ का पदम तामाङको शव फेला परेको हो।
हिमपहिरोमा परेका पाँच विदेशी भने अझै बेपत्ता छन्। ‘हिमपहिरोमा परेकाहरूको पहिचान खुलेको छ, दुई नेपालीको शव निकालिएको छ,’ उनले भने, ‘बाँकी विदेशी आरोहीहरूको खोजी कार्य जारी छ।’ हिमपहिरोमा इटालीका पाउलो कोको र मार्कस किचर्लर, जर्मनीका ज्याकोब श्राइवर, फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडी र क्यानडाका मार्को डी मार्सेलो परेका प्रहरी नायब उपरीक्षक महतोले जानकारी दिए। हिमपहिरो गएको क्षेत्रमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै हिमपहिरोमा परी गम्भीर घाइते अवस्थामा फेला परेका ४ जनाको मंगलबार बिहान उद्धार गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महतोले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते अवस्थामा यलुङ री बेसक्याम्पमा रहेका दुई फ्रान्सेली आरोहीहरू इस्वेल्ली सोलंगे र डिडिअर अरमन ब्रेटन उद्धार गरिएको हो। युलङ री बेसक्याम्पबाटै नेपाली पथप्रदर्शक सोलुखुम्बुको सल्लेरीका लाक्पा शेर्पा र गोरखाको धार्चेका सुनबहादुर गुरुङ पनि गम्भीर अवस्थामा उद्धार गरिएको छ।
विदेशी आरोहीहरुको एरा अस्पताल र नेपाली पथप्रदर्शकको ह्याम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आरोहणमा सहभागी अन्य सामान्य घाइते भएका तीन फ्रान्सेली र तीन नेपालीको ना गाउँबाट उद्धार गरिएको प्रहरी नायब उपरीक्षक महतोले बताए। उनीहरू सबैको अवस्था सामान्य छ।
उनका अनुसार तीन विदेशी आरोहीमध्ये दुईजना महिला र एकजना पुरुष रहेका छन्। जसमा फ्रान्सका महिला आरोहीहरू क्यारोल फुचस र थावन इश्वेली सोलंगे तथा पुरुष आरोही डिडिआर अरमन्ड बेटिअर रहेका छन्। उनीहरूको मंगलबार बिहान नाबाट उद्धार गरिएको थियो। यस्तै, उद्धार गरिएका नेपालीहरूमा बारा जिल्ला घर भई काठमाडौं बस्ने छुल्ठिम डोल्मा गुरुङ, ठेगाना नखुलेका निमा ग्याल्जेन शेर्पा र स्याङ्जाका राज गुरुङ रहेका छन्। उनीहरूको पनि ना गाउँबाटै उद्धार गरिएको थियो। ५ हजार ६३० मिटर अग्लो यलुङ री आरोहणका लागि सोमबार बिहान आठ विदेशी आरोही र सात नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए।