पुस १५ सम्म दाउन्ने सडक एकतर्फी, बुझेर मात्र यात्रा गर्न आग्रह

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

सामान्य पानी पर्ना साथ सडक हिलाम्य र चिप्लो भएर गाडीहरू फस्ने र घाम लाग्नेबित्तिकै धुलाम्य भएर हिँड्नै नसकिने अवस्था सिर्जना भएपछि दाउन्ने सडक पुस १५ सम्मका लागि एकतर्फी गरिएको छ । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेखण्डमा बाँकी रहेका कल्भर्डहरू निर्माण गर्न र ढलान गर्न तयारी अवस्थामा रहेका क्षेत्रहरूमा ढलान सक्नका लागि एकतर्फी गरिएको हो । 

सडक विभागका प्रमुख इन्जिनियर चूडाबहादुर ढकालले दाउन्नेमा लगातारको जाम र सवारीसाधनको चापले काम गर्न नसकिएका कारण सडक एकतर्फी गरिएको बताए । उनका अनुसार यो अवधिमा भारतबाट आउने र भारत जाने ठुला मालवाहक लरीजस्ता सवारीसाधनलाई अन्य बाटो प्रयोग गराइनेछ । नारायणघाट–बुटवल सडक आयोजनाले सोमबार एक सूचना जारी गर्दै पुस १५ गतेसम्म सडक एकतर्फी मात्र सञ्चालन हुने जनाएको हो । सूचनामा यो अवधिमा कल्भर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारीसाधनहरू सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको बताइएको छ ।

त्यसैले उक्त कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अर्थात् कम्तीमा पुस १५ गतेसम्म सडक पूर्ण रूपमा सञ्चालन नहुने सूचनामा उल्लेख छ । यहाँ कम्तीमा चार स्थानमा कल्भर्ड निर्माणको कामले चार ठाउँमा सडक एकतर्फी रहेको छ भने सडक ढलान भइरहेको ठाउँहरूमा पनि सडक एकतर्फी रहेको छ । त्यसैगरी केही दिनअघि आकस्मिक रूपमा भएको निरन्तर वर्षाले निर्माणाधीन नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाइ भएको तथा आगामी दिनहरूमा पुनः वर्षात् भएमा थप समस्या हुने भन्दै झन्डै दुई महिना एकतर्फी सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

सडक आयोजनाले दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न पनि सबैसित आग्रह गरेको छ। दाउन्नेको यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्कीबाससँग समन्वय गर्न सडक आयोजनाको आग्रह छ। बाटो असहज हुँदा सवारी साधनको बाक्लो जाम हुने गरेको छ । सडकको अवस्थाबारे प्रहरीले वेलैमा जानकारी नगराउने र सडक आयोजनाले पनि वेलैमा जानकारी नगराउँदा यात्रुहरूले निकै सास्ती पाउने गरेका छन् । 

यो सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरेर मात्र यात्रा गर्न पनि सडक आयोजनाले सबैसित अनुरोध गरेको छ। दुई दिन अघिसम्म परेको झरीका कारण दाउन्ने सडकखण्ड निरन्तर अवरोध भइरहेको छ । जसका कारण यात्रुहरूले १४ किलोमिटरको दाउन्ने खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको गुनासो गरेका छन् । 

पाँच दिनसम्म सडक अनियमित 
पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा खन्डमा दुई दिनको पानीले पाँच दिन यातायात प्रभावित बन्यो । मंगलबार बिहानबाट भने यात्रा सहज भएको छ ।  बाटो हिलो र चिप्लोले उकालोमा सवारीसाधन उक्लन नसक्दा ठाउँठाउँमा सवारीसाधन बिग्रिएर बसेका छन् जसले गर्दा दाउन्ने सडक खण्डमा लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक पार हुन बस तथा ठुला सवारीसाधनलाई अहिले आठदेखि १० घण्टा लाग्ने गरेको थियो ।  दुम्कीबासका स्थानीय बासिन्दाका अनुसार अहिले दाउन्नेदेखि होङ्सी सिमेन्ट गेटसम्म करिब १० किलोमिटर लामो सवारीसाधनको लामो लाइन लागेको थियो । सोमबार दिउँसोबाट यात्रा केही सहज भएको थियो भने मंगलबार बिहानसम्म जाममा फसेका सबै सवारीसाधन पास भएका थिए । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार  मंगलबार बिहानदेखि दाउन्ने सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।  उनले भने– हेबी लोड बोक्ने सवारीसाधनहरूले वैकल्पिक बाटो प्रयोग गर्दा उपयुक्त हुन्छ ।  सडक विभागले सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीलाई दसैँअगाडि नै यात्रा सहज गराउन निर्देशन दिएको भए पनि दाउन्नेमा १४ किलोमिटर सडक खण्डमध्ये पश्चिमखण्डको तीन किलोमिटर मात्र पूर्ण रूपमा कालो पत्रे भएको छ भने केही ठाउँमा ठलानको काम सकिएको छ । बाँकी अधिकांश क्षेत्र कच्ची र खाल्टाखुल्टी रहेको छ । 
 

सुझावित समाचार