धनकुटा नगरपालिका क्षेत्रमा दुई दिन बिदा

मंगलबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

धनकुटा नगरपालिका क्षेत्रमा दुई दिन बिदा दिइएको छ। नगरपालिकाले सूचना जारी गर्दै कात्तिक १९ र २० गते दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । मुख्य गरेर नेपालको धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्दै आएका आठपहरिया जातिको महान् चाड वाडामेंटको अवसर पारेर धनकुटा नगरपालिका क्षेत्रमा दुई दिन बिदा दिइएको सूचनामा उल्लेख छ ।

वाडामेंटको अवसर पारेर नगरपालिकाको अत्यावश्यक सेवाबाहेक वडा कार्यालय, नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालयहरू र नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित सूचनामा जनाएको छ ।

नेपालको धनकुटा नगरक्षेत्रमा मात्र मुख्य बसोबास रहेको आठपहरिया जाति आदिवासी जनजातिमा सूचीकृत हुन सकेको छैन। अल्पसंख्यक जातिको रूपमा रहेको यो जातिले मनाउँदै आएको वाडामेंट १५ दिनसम्म घर–घरमा भेला भई भव्यताका साथ मनाउने गर्दछन्। आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक रूपमा पछि परेको आठपहिया जातिको उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

सुझावित समाचार