भारत महिला विश्वकपको नयाँ विजेता

मंगलबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण
  • पहिलोपटक फाइनलमा पुगेको दक्षिण अफ्रिकामाथि ५२ रनको सहज जित निकाली भारतले उचाल्यो एकदिवसीय विश्वकप ट्रफी 

भारतीय महिला क्रिकेट टोली एकदिवसीय विश्वकपको नयाँ विजेता बनेको छ । मुम्बईको नाभी रंगशालामा आइतबार राति भारतले दक्षिण अफ्रिकालाई फाइनलमा ५२ रनले हराउँदै विश्व च्याम्पियन ट्रफी उचालेको हो । ५२ वर्षको महिला विश्वकप इतिहासमा पहिलोपटक फाइनलमा दक्षिण अफ्रिका पुगेको थियो । १३औँ संस्करणको विश्वकपको फाइनलअघि नै पूर्वविजेता बाहिरिएका कारण यसपटक नयाँ विजेता पाउने निश्चित भइसकेको थियो । सर्वाधिक सातपटकको विजेता अस्ट्रेलिया, चारपटकको च्याम्पियन इंग्ल्यान्ड र न्युजिल्यान्ड फाइलनसम्म पुग्न सकेनन् । 

सेमिफाइनलमा साबिक विजेता अस्ट्रेलियामाथि सनसनी जित निकाली आत्मविश्वास देखिएको भारतीय महिला टोलीले दक्षिण अफ्रिकालाई सहजै हरायो । पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९८ रनको विशाल योगफल खडा गर्यो । दक्षिण अफ्रिकाले प्रत्युत्तरमा ४५.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ४६ रन जोड्दा भारत विजयी भयो । भारतलाई विश्व च्याम्पियन बनाउने क्रममा साफेली बर्माले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । 

उनले ब्याटिङमा सर्वाधिक ८७ रन बनाइन् । बलिङमा उनले दक्षिण अफ्रिकाका महत्वपूर्ण दुई विकेट लिइन् । १३औँ महिला विश्वकपको म्यान अफ दी सिरिज भारतीय खेलाडी दीप्ति शर्मा भइन् । उनले प्रतियोगिताभरि दुई सय १५ रन बनाउनुका साथै २२ विकेट लिइन् । उपाधि भिडन्तमा उनी घातकसिद्ध भइन् । उनले ९.३ ओभरमा ३९ रन खर्चेर सर्वाधिक पाँच विकेट हात पारिन् । ब्याटिङमा पनि उनले उत्कृष्ट योगदान दिइन् । दीप्तिले ५८ बलमा तीन चौका र एक छक्का प्रहार गरी ५८ रन बनाइन् ।

सन् १९७३ मा पहिलोपटक महिला विश्वकप आयोजना भएको थियो । आइसिसीले पुरुष विश्वकपभन्दा महिला विश्वकप अगाडि आयोजना गरेको थियो । सन् १९७८ मा डायना एन्जीको कप्तानीमा भारतले पहिलोपटक विश्वकपमा सहभागिता जनाएको थियो । विश्वकप उपाधि उचाल्न भारतले ४७ वर्ष प्रतिक्षा गरेको हो । 

सन् २००५ मा भारत पहिलोपटक फाइनलमा पुगेको थियो । अस्ट्रेलियासँग भारत ९८ रनले पराजित भयो । त्यसको १२ वर्षपछि (२०१७)मा भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै फाइनल स्थान पक्का गर्यो । तर, फाइनलमा भारत इंग्ल्यान्डबाट झिनो नौ रनले पराजित भयो । त्यसपछि सन् २०२५ मा भारत तेस्रोपटक फाइनलमा पुग्यो । भारतले यसपटक सेमिफाइनलमा ठुलो लक्ष्य पछ्याउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । 

बिसिसिआईबाट ५१ करोड भारु दिने घोषणा 
पहिलोपटक एकदिवसीय विश्व च्याम्पियन बनेको भारतीय महिला टोलीका खेलाडी तथा स्टार्फ करोडपति बन्ने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले च्याम्पियन टोलीलाई ५१ करोड भारु दिने घोषणा गरेको छ । यो पुरस्कार रकम खेलाडी, प्रशिक्षक तथा स्टार्फले पाउने छन् । 

यसैगरी, ट्रफी जितेपछि भारतले प्रतियोगिताको विजेता धनराशि ३९ करोड ५० लाख भारु पाएको छ । पुरुषको तुलनामा महिलातर्फको विश्वकप विजेताको धनराशि धेरै छ । सन् २०२३ मा अस्ट्रेलियाली पुरुष टोलीले विश्वकप उपाधि जित्दा ३३ करोड ३१ लाख भारु पाएको थियो । 

नियमित खेलाडी घाइते हुँदा सेफालीको भाग्य
भारतलाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएकी सेफाली सुरुवाती चरणको टोलीमा थिइनन् । बिसिसिआइले विश्वकप खेल्ने खेलाडी घोषणा गर्दा उनी टोलीबाट बाहिर रहिन् । गत वर्ष खराव फर्ममा रहँदा उनले भारतीय टोलीमा स्थान बनाउन नसकेकी हुन् । एक वर्षअघि नै राष्ट्रिय टोलीबाट बाहिर रहेकी सेफालीको भाग्य फेरियो । २६ अक्टोबरमा बंगलादेशविरुद्धको प्रतिस्पर्धामा भारतकी नियमित ओपनर प्रतिका रावल घाइते भइन् । त्यसपछि बोर्डले रावलको स्थानमा अनुभवी खेलाडीकै रूपमा सेफालीलाई टोलीमा बोलायो । उनले फाइनलमा ८७ रन जोड्न्का साथै दुई विकेट पनि लिइन् । यसै प्रदर्शनका आधारमा उनी खेलकै म्यान अफ दी म्याच पनि भइन् । 

भारतले जित्यो आइसिसीको १५औँ उपाधि
समग्रमा भारतीय क्रिकेट टोलीले आइसिसीबाट आयोजना हुने १५ वटा प्रतियोगिता जितेको छ । १५औँ उपाधिका रूपमा महिला विश्वकप रह्यो । भारतको पुरुष टोलीले उमेर समूह र सिनियर विश्वकप जितेको छ । सिनियर पुरुष टोलीले दुई एकदिवसीय विश्वकप, दुईपटक टी–२० आई विश्वकप तथा तीनपटक आइसिसी च्याम्पियन्स ट्रफी हात पारेको छ । यसैगरी, भारतको उमेर समूहको पुरुष टोलीले पाँचपटक यू–१९ विश्वकप जितेको छ । महिला टोलीले दुईपटक यू–१९ विश्वकप उपाधि हात पारेको छ । अस्ट्रेलियाले सर्वाधिक २७ पटक आइसिसीको उपाधि जितेको छ । 

सुझावित समाचार