स्ट्राइकरद्वय मीना देउवा र रेखा पौडेल चम्किँदा सोमबार नेपाल पुलिस क्लबको महिला टोली झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद स्मारक ‘ए’ डिभजिन लिग विजेता चर्च ब्वाइज युनाइटेडले भर्खरै महिला टोली बनाएर झापा गोल्डकपमा सहभागिता हुँदा पुलिसबाट ८–० ले पराजित भयो । पुलिसले १९ कात्तिकमा घरेलु टोली झापा र संकटा क्लबबिच विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
झापाको शिवशताक्षीस्थित दुधे रंगशालामा भएको उद्घाटन खेलमा मीनाले व्यक्तिगत पाँच गोल गरेकी थिइन् । अर्की स्ट्राइकर रेखाले ह्याट्रिक लगाइन् । भारतमा भएको त्रिकोणात्मक तथा मैत्रीपूर्ण खेलमा मीनाले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उत्कृष्ट लयमा रहेकी मीनाले सबै पाँचै गोल दोस्रो हाफमा गरेकी हुन् । उनले खेलको ५१औँ, ५९औँ र ६२औँ मिमेटमा ह्याट्रिक लगाइन् । त्यसपछि उनले ६८औँ र ८१औँ मिनेटमा थप दुई गोल गर्दा पुलिसको सानदार जित भयो ।
चर्च ब्वाइजले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरी पुलिसलाई १–० को गोलमा रोकेको थियो । चर्च ब्वाइजले दोस्रो हाफमा लय गुमाउनपुग्यो । राष्ट्रिय टोलीकी अनुभवी स्ट्राइकर रेखाले पुलिसलाई खेलको ३७औँ मिनेटमा १–० को अग्रता दिलाइन् । मीनाले डिबक्समा दिएको क्रसमा अनमार्क रहेकी रेखाले पहिलो बारमै गोल गरिन् । दोस्रो हाफमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको पुलिसले चर्च ब्वाइजको पोस्टमा सात गोल गर्यो ।
रेखाले मैदानको मध्यभागबाट चर्च ब्वाइजका खेलाडीलाई बिट गर्दै उत्कृष्ट ड्रिब्लिङका साथ ह्याट्रिक पूरा गरेकी हुन् । पुलिसविरुद्ध कमजोर प्रदर्शन गरेको चर्च ब्वाइजको महिला टोलीले सम्झनालायक मुभ नै बनाउन सकेन । उद्घाटन खेलको प्लेयर अफ द म्याच मीना घोषित हुँदै १५ हजार रुपैयाँ पाइन् । प्रतियोगिताको मंगलबार नेपाल एपिएफले भारतको सिङलिङ एस्सी सिक्किमविरुद्ध प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
हाम्रो लक्ष्य उपाधि जित्ने हो : भोला सिलवाल, प्रशिक्षक, पुलिस
स्ट्राइकिङ लाइन हाम्रो राम्रो पक्ष हो । स्ट्राइकिङ लाइनमा खेल्ने रेखा पौडेल, मीना देउवा, अनुष्का शेर्पा, सम्झना लावतीको राम्रो प्रदर्शन भयो । सबैले एकजुट भएर खेल्दा स्कोर निस्कियो । हाम्रो योजना अट्याकिङ खेल्ने थियो । त्यहीअनुसार खेल्यौँ । हामी उपाधि लैजाने तयारीका साथ प्रतियोगिता खेल्न आएका हौँ । हामी धेरैपटक एपिएफसँग फाइनलमा हार्यौँ । यसपटक हामीले जित्नुपर्छ । विगतमा कहिले रेखा पौडेल वा पूजा राना नहुने थियो । अहिले सबै खेलाडी छन् । यसपटक हाम्रो लक्ष्य उपाधि जित्ने हो । मीनाबाट हामीले धेरै अपेक्षा गरेका छौँ ।
पुलिससँग हाम्रो तुलना हुन सक्दैन : सुजन श्रेष्ठ, अफिसियल, चर्च ब्वाइज
नेपाली फुटबलमा पुलिस सिनियर टोली हो । उनीहरू शीर्ष डिभिजन लिग पनि खेलेर आइसकेको छ । चर्च ब्वाइज सुरुवाती चरणमा छ । हामीले पहिलो हाफमा पुलिससँग प्रतिस्पर्धा गर्यौँ । पहिलो गोल रेफ्रीको गलत निर्णयले भयो । दोस्रो हाफमा पुलिसले हाम्रो रणनीति राम्रोसँग बुझयो । राष्ट्रिय टोलीका अनुभवी खेलाडीले हामीलाई दोस्रो हाफमा कमजोर बनायो । गोलअन्तरले केही दुखित बनाएको छ । तर, पनि हाम्रा खेलाडीले खेलेकै हो । चर्च ब्वाइजको पुरुष टोली राम्रो छ, तर महिला त्यो स्तरमा पुगेको छैन । गत महिनादेखि महिला टोली बनाएर बल्ल खेलमा आएका छौँ ।