संसद् भवनमा कार्यरत ३५ कर्मचारी हटाइयो

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन हेर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका ३५ कर्मचारीलाई हटाइएको छ । सरकारको निर्णयअनुसार ज्यालादारी र परामर्श सेवामा कार्यरत कर्मचारीलाई शुक्रबार हटाइएको हो । 

संसद् भवन जलेसँगै समितिमा कार्यरत कर्मचारीहरू कामविहीन भएका थिए । सरकारले त्यसरी नियुक्ति गरिएका कर्मचारी हटाउने निर्णय गरेकाले उनीहरूलाई हटाइएको समितिका प्रशासन प्रमुख दीपेन्द्रबिक्रम सिंहले बताए। समितिमा अझै ४६ जना करारका कर्मचारी कार्यरत छन्। उनीहरूलाई पुससम्मलाई भनेर नियुक्तिपत्र दिइएको छ। करारका कर्मचारीको पनि कुनै काम नभएको समिति स्रोत बताउँछ। करारका धेरै कर्मचारीहरू नेताहरूको सिफारिसमा नियुक्त भएका हुन्। समितिमा ४८ जना स्थायी दरबन्दीमा कर्मचारी कार्यरत छन्। यही समितिले धरहरा, गोदावरीस्थित सनराइज सभा हल, दमक टावर तथा भैरहवाको सभा हल हेर्ने जिम्मेवारीसमेत दिइएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति सहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ।

भवनको परिसरबाट हटाइयो सुरक्षाकर्मी 
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत सबै सुरक्षाकर्मी हटाइएको छ । यसअघि संसद् रहेकाले त्यहाँ सबै सुरक्षा निकायबाट खटिएका थिए। 

सबै सुरक्षाकर्मी निस्किएपछि आफूहरूलाई समस्या भएको समितिका प्रशासन प्रमुख दीपेन्द्रकुमार सिंहले बताए। ‘पछिल्लो समय सशस्त्र प्रहरी यहाँ खटिएकामा ऊ पनि हटेको छ,’ उनले भने, ‘हामीले सुरक्षा राखिदिनुपर्यो भनेर आग्रह गरेका छौँ।’ 

सुझावित समाचार