ठेक्का सम्झौता नहुँदै महाकालीमा अवैध उत्खनन

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

कञ्चनपुरको महाकाली नदीमा अवैध उखनन भइरहेको छ। भीमदत्त नगरपालिका– १३, पिपरैया घाट क्षेत्रस्थित महाकाली नदीमा ठेकेदार कम्पनीले ठेक्का सम्झौताअगावै उत्खनन सुरु गरेका हुन्।

चालू आर्थिक वर्ष ०८२/८३ मा भीमदत्त नगरपालिकाले महाकाली नदीबाट रोयल्टी संकलनका लागि ठेक्का आह्वान गरेको थियो। ठेकेदार कम्पनीसँग सम्झौता गर्न भने बाँकी छ। तर, व्यवसायीहरूले धमाधम अवैध रूपमा उत्खनन गरिरहेका छन्।

चार लेन पुलकै झन्डै साढे तीन सय मिटर क्षेत्रफल भित्रबाटै जेसिभी लगाएर उत्खनन भएरहेको छ। ठेक्का सम्झौता हुन बाँकी नै भएकाले नगरपालिकाले अमानतमै रोयल्टी संकलन गरिरहेको छ। मापदण्डविपरीत उत्खनन भएपछि भीमदत्त नगरपालिका र जिल्ला समन्वय समितिले सोमबार स्थलगत अनुगमन गरेका छन्।

भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले तोकिएको क्षेत्रबाट मापदण्डविपरीत उत्खनन, ढुंगा, गिटी संकलन गर्न नपाइने बताए। प्रमुख प्रशासकीय अधिकृत बमले आगामी दिनमा समेत स्थलगत अनुगमन गरी नियन्त्रण गरिने बताए।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले मापदण्डविपरीत उत्खनन कार्यपालिकालगायतले नियन्त्रण गर्नुपर्ने बताए। जिसस प्रमुख बोहराले चार लेन पक्की पुलकै छेउबाट करोडौँको संरचनामा क्षति हुने गरेर उत्खनन गर्न नमिल्ने बताए। पहिलोपटकका लागि सम्झाइबुझाई गरिएको उनको भनाइ छ।

सुझावित समाचार