झापा महिला गोल्डकप आजदेखि

प्रतियोगिताको विजेताले १० लाख १० हजार र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सोमबार सुरु हुँदै छ । गोल्डकपको सम्पूर्ण तयारी सकिएको आयोजकले आइतबार जानकारी दिएको छ । निरन्तरको वर्षाका कारण प्रतियोगिता दुई दिन सरेको हो । २४ कात्तिकसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा गोल्डकप हुनेछ ।

उद्घाटन खेलामा नेपाल पुलिसले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्की स्थायी प्यारापिट निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको आयोजकका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । 

प्रतियोगितामा एपिएफ, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, संकटा, झापा, आरएस पोखरा र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोलीले सहभागिता जनाउनेछन् । 

प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । आयोजकले महिला गोल्डकपकै सबैभन्दा धेरै पुरस्कार दाबी गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने थोप्राले बताए । 

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

सुझावित समाचार