धनुषाको गणेशमान चारनाथ नगरपालिका– १, वीरेन्द्र बजारनजिक यात्रुवाहक बस र अटोरिक्सा एक–आपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारनजिकै शनिबार साँझ भएको उक्त दुर्घटनामा एकै परिवारका तीन सदस्यसहित अटोरिक्साचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र. ०१–००१ ख ३२८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गणेशमान चारनाथ नगरपालिका– १, भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछानेमगर, ३५ वर्षीय शम्भु पुर्वछानेमगर, ३५ वर्षीया निशा मगर र अटोरिक्साचालक ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
उक्त दुर्घटनामा १४ वर्षका शीतल मगर र नाै वर्षका रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जनकपुरस्थित जनकपुर अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । बसचालक अनिल थारू र बस प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।