नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले चौथो खेलाडीको रूपमा बेनचार्ल्सवर्थलाई भित्र्याएको छ । २४ वर्षे अलराउन्डरचार्ल्सवर्थले ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन् ।
काठमाडौं स्पोर्टस् डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर तथा ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई आउँदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ । एनपिएलमा सहभागी अन्य टिमले भने धेरैमा तीनजना खेलाडी मात्रै भित्र्याएका छन् ।
चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनी निरन्तर सोही टोलीबाट काउन्टीमा खेल्दै आएका छन् र ५७ खेलमा ३१ माथिको औसतमा २७५४ रन बनाइसकेका छन्, जसमा चार शतक र १५ अर्धशतक छ ।
सोक्रममा उनले ३० विकेट पनि लिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि काठमाडौंसहित साबिक विजेता जनकपुर बोल्ट्स, साबिक उपवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् । एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदै छ ।