२७ कात्तिकदेखि पोखरा इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस

६ विधामा १५ देशका एक सय जनाले प्रतिस्पर्धा गर्ने

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

तेस्रो संस्करणको पोखरा इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस २७ कात्तिकदेखि हुने भएको छ। डाउन टिल डस्कको आयोजना, पोखरा महानगरपालिका–१३ कास्की जिल्ला साइक्लिङ संघको समन्वयमा २७ देखि २९ कात्तिकसम्म पोखराको आर्बा–विजय डाँडामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताबारे जानकारी दिन शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले १५ देशका सयजना खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए। सहभागिताका लागि खेलाडीको दर्ता प्रक्रिया सुरु भइसकेको बताए। २३ र २४ भदौको जेन–जी प्रदर्शनका कारण रेसलाई समेत असर गरेको र सहभागिताका लागि नाम दर्ता गरेका केही खेलाडीले सहभागी नहुने जानकारी गराएको शर्माले बताए। 

तीनदिने प्रतियोगितामा विभिन्न ६ विधामा प्रतिस्पर्धा हुनेछ। शर्माका अनुसार इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), खुला माहिला-पुरुष १९ वर्षमाथि, मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि) गरी ६ विधामा प्रतिस्पर्धा हुनेछन्। 

डस्कले सन् २०२० देखि पोखरामा रेसको आयोजना गर्दै आएको छ। यसअघि ०८० र ०८१ मा गरी दुई संस्करण सम्पन्न गरिसकेको छ। वन जंगल, बगर बालुवामा, बाँसघारी, खोलानाला, गोरेटो बाटोमा उडाउने गुडाउने सबै खालको मिश्रणले बनाइएको पाँच किलोमिटरको ट्र्याक निर्माण गरी यसअघिका दुई संस्करण आयोजना गरिएकोमा यस वर्ष शीर्ष श्रेणीका खेलाडीका लागि दुई नयाँ रेस ट्रेलको समेत निर्माण गरिएको डाइरेक्टर शर्माले जानकारी दिए।

समुन्द्री सतहबाट एक हजार ६० मिटर उचाइमा रहेको आर्बा–विजय डाँडामा प्रतियोगीहरूले रेस जित्नका लागि ६ वटा स्टेज पार गर्नुपर्नेछ। रेसले पोखरालाई साइक्लिङ खेलको सहासिक र रोमाञ्चक सहरको रूपमा विश्वमाझ परिचित गराउनसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पुर्याउने शर्माले दाबी गरे। 

सुझावित समाचार