नेपाल आइसिसी पुरुष विश्वकप लिग-२ को त्रिकोणात्मक शृंखलामा लगातार तेस्रो खेलमा पराजित भएको छ । शनिबार युएइको दुबईमा नेपाल शीर्ष स्थानमा रहेको अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएको खेलमा नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदा २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो ।
लिग-२ को यो श्रृंखलामा नेपाल लगातार तेस्रो हार बेहोरेको छ । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईबाट पाँच विकेटले हार्याे । लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता धरापमा पर्ने देखिएको छ । अमेरिका र घरेलु टोली युएईसँगको प्रतिस्पर्धामा नेपाल ब्याटिङ मै निकै कमजोरी देखियो ।
अहिले १२ अंकका साथ नेपाल सहभागी आठमध्ये सातौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाले २३ खेलबाट सर्वाधिक ३४ अंक बटुलेको छ। यता, युएई भने तालिकाको अन्तिममा छ।
अमेरिकाको इनिङ्समा दुई खेलाडीले अर्धशतक बनाए । साइजेता मुक्कमल्लले सर्वाधिक ७५ रन बनाएका थिए । उनले १०१ बलमा दुई चौका र एक छक्का हिर्काएका हुन् । मिलिन्द कुमारले ६६ बलमा ७० रन बनाए । ७ चौका र एक छक्का हिर्काएका उनलाई सन्दीप लामिछानेले भिम सार्कीको हातबाट क्याच आउट गराएका हुन् । मिलिन्द र मक्कमल्लले तेस्रो विकेटको लागि १३२ बलमा १२३ रनको बलियो साझेदारी गर्दै अमेरिकाको जित आधार तय गरेका थिए ।
यसअघि ओपनरद्वय स्मिथ पटेल र सायन जहान्गिरले ६३ बलमा ५३ रनको दोस्रो ठूलो साझेदारी गरेका हुन् । शायनले ३६ तथा पटेलले १६ रन बनाए । कप्तान मोनान्क पटेलले २१ रनको योगदान गरेका थिए ।
नेपालका सन्दीपले सर्वाधिक तीन विकेट लिए । तर, उनले ५३ रन खर्चिएका थिए । अवसर पाएका नन्दन यावद, करण केसी गुल्शन झाले समान एक विकेट लिएका थिए । ललितनारायण राजवंशी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी विकेट विहिन भए ।
यसअघि पहिलो इनिङ्समा नेपालको लागि उपकप्तान दीपेन्द्रले ६७ बलमा सर्वाधिक ७५ रन बनाएका थिए । २ चौका र ३ छक्का प्रहार गरेका दीपेन्द्र ४५–३ ओभरमा छक्का हान्ने क्रममा क्याच आउट भएका हुन् ।
आठौँ नम्बर ब्याटिङमा आएका हिटर करण केसीले ३१ बलमा आक्रमक ब्याटिङ गर्दै ४९ रन बनाएका थिए । उनले २ चौका र ३ छक्का हिर्काउँदै नेपालको इनिङ्स उकासेका थिए । त्यसअघि ओपनर कुशल भुर्तेलले ६५ बलमा समान दुई चौका र छक्कासहित ४७ रन बनाएका थिए। तेस्रो नम्बर क्रिजमा आएका भीम सार्कीले ५८ बलमा चार चौकासहित ४३ रन बनाएका हुन् । कप्तान रोहितले ३६ रनको योगदान गरेका थिए ।
नेपालको इनिङ्समा दुई ठुला साझेदारी बनेका थिए । कप्तान रोहित र उपकप्तान दीपेन्द्रले ८२ बलमा सर्वाधिक ८९ तथा कुशल भुर्तेल र भीमले १०८ बलमा ८६ रनको साझेदारी गरेका हुन्।ओपनर आसिफ शेखले २, आरिफ शेखले २ तथा गुल्सन झाले ५, नन्दन यादव र ललित राजवंशीले समान एक रन मात्र बनाएका थिए। सन्दीप लामिछाने ४ रनमा अविजित रहे।
अमेरिकाका हरमित सिंहले सर्वाधिक तीन तथा नोस्थस केन्जिगे र सौरभ नेत्राभाल्करले समान दुई विकेट लिए । जसदीप सिंह र सुभम रन्जनेले समान एक विकेट लिएका हुन् ।
अब, नेपालले बुधबार युएईसँग अन्तिम खेल खेल्नेछ ।