पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले माओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले बहुमतका आधारमा एकता प्रस्ताव अनुमोदन गराएका छन् । तर, निर्णयप्रति असहमति जनाउँदै सम्मानित नेता झलनाथ खनालले ३० बुँदे फरक मत र राजनीतिक प्रस्तावसहित नयाँ पार्टी बनाउने घोषणा गरेका छन् ।
बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले अध्यक्ष नेपालद्वारा प्रस्तुत माओवादीसँगको एकतासम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको दाबी गरे । ‘अध्यक्षको एकतासम्बन्धी विशेष प्रस्ताव र राजनीतिक प्रस्ताव सर्वसम्मत पास भएको छ । ९५ प्रतिशत सदस्यले एकता आवश्यक र अपरिहार्य छ भनेरै बोल्नुभयो । एकताको विरोधमा कसैले बोल्नुभएको छैन,’ ज्वालाले भने, ‘कतिपयले हतार नगरौँ, बृहत् एकतातिर जान अरू पार्टीसँग पनि छलफल गरौँ, अलि समय लिएर जानुपर्छसम्म भन्नुभएको हो । मुख्य कुरा व्यक्तिगत रूपमा बाहिर कसले के भन्यो भन्दा पनि बैठकमा के भयो भन्ने महत्वपूर्ण हो ।’
केन्द्रीय कमिटीबाट अध्यक्ष नेपालले एकतासम्बन्धी प्रस्तावबारे निर्णय सुनाउने क्रममा महासचिव घनश्याम भुसालसहितका केही पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यले असन्तुष्ट जनाएका थिए । होहल्लाबिचमै निर्णय गर्न खोजिएपछि असन्तुष्ट नेताहरूले प्रतिवाद गरेका थिए ।
सम्मानित नेता खनालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ पार्टी पुनर्गठन गरेर एकीकृत समाजवादीलाई नै निरन्तरता दिने या ध्र्रुवीकरणमार्फत नयाँ पार्टी बनाउने पक्षमा छन् । त्यस्तै, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामा, पासाङडोल्मा लामासहित करिब ६० आसपास सदस्य खनाल र भुसालले उठाएको पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् । झाँक्रीसहित भानुभक्त जोशी, प्रेम आले, किसान श्रेष्ठलगायत एउटा समूह भने एमालेमै फर्किने गरी नियमित सम्पर्कमा पनि छन् ।
नेतृ झाँक्रीले बहुमतबाट निर्णय भए पनि माओवादीसँगको एकताबाट अहिलेको संकट समाधान नहुने बताइन् । ‘उहाँहरूले बहुमतबाट निर्णय गर्नुभयो । माओवादीसँग मर्जरमा जान सक्नुहुन्छ, तर हामीले एमालेसहित बृहत् वाम एकता चाहेका हौँ,’ उनले भनिन्, ‘त्यसैले पुनर्गठनको प्रक्रियाबाट पार्टी अगाडि बढाउँछौँ । निर्णयप्रति नेता–कार्यकर्तासहितको ठुलो पंक्ति सन्तुष्ट छैन ।’
बैठकमा फरक मतबारे बोल्नसमेत नदिई जबर्जस्ती निर्णय गरिएको भन्दै खनालले ३० बुँदे फरक मत सार्वजनिक गर्ने बताएका छन् । तर, पार्टीभित्र फरक मत आउनु स्वाभाविक भए पनि अध्यक्ष नेपालको एकतासम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष ज्वालाको दाबी छ । ‘उहाँले अन्तिममा बोल्ने क्रममा मेरो मत दर्ज होस् भनेर एउटा अलग्गै राजनीतिक दस्ताबेजसहित मत राख्नुभो । कुनै पनि नेताले बैठकमा मत दर्ज गर्ने कुरालाई पार्टीले सम्मान गर्छ,’ ज्वालाले भने ।
अध्यक्ष नेपालले आफ्नो मतबारे बैठकमा केही नबोलेको र प्रतिवाद गर्दागर्दै माइकको लाइन काटिएको खनालले बताए । उनले राजनीतिक र कानुनी परामर्शका आधारमा आगामी कमद तय गर्ने सुनाए । ‘मैले उठाएका सवालको जवाफ नदिई माधवजीले बैठक सकियो भन्नुभयो । मैले सकिएको छैन, बोल्छु भनेर जुरुक्क उठेर माइक समाएँ, तर लाइन काटेर बोल्न नै दिइएन,’ उनले भने, ‘त्यसैले मेरो ३० बुँदे फरक मत सार्वजनिक गर्छु । अहिले नयाँ पार्टी बनाउने सोचमा छु । तर, कानुनले के भन्छ बुझ्छौँ र उहाँहरू कसरी जानुहुन्छ, हेर्छौँ । उहाँहरू गइसकेपछि प्रक्रिया सुरु गर्छौँ । नयाँ पार्टीको नाम के हुन्छ, गृहकार्य गर्छौँ । मिल्ने रहेछ भने अहिलकै पार्टीलाई पुनर्गठन गर्न पनि सक्छौँ ।’
नेकपा एस फुट्दै गर्दा ओलीको आह्वान– पसिना र रगतले बनेको आफ्नै घरमा फर्किनुस्
माधव नेपालले नेतृत्व गरेको दल एकीकृत समाजवादी फुट्ने निश्चित भएसँगै एमाले अध्यक्ष केपी ओलीले आफ्नै घरमा फर्किएर एकतासहित मिलेर अगाडि बढ्न आह्वान गरेका छन् । ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ, देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ,’ ओलीले आह्वान गर्दै भनेका छन्, ‘हामी एउटै परिवार हौँ, हाम्रो लक्ष्य स्पष्ट छ– समृद्ध नेपाल, सुखी नेपाली । म सबैमा आह्वान गर्न चाहन्छु– कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा ।’