- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको कात्तिक १५ गते शनिबारदेखि २१ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । लगनशीलताले सफलताको उचाइमा पुर्याउन सक्छ । आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनुपर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ काममा जुट्ने समय छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । सप्ताहान्तमा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ । अर्थलाभ हुनाले दैनिकीमा परिवर्तन आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भूमिमा लगानी गरे राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनुहुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । सप्ताहान्तमा भाग्यले साथ दिनेछ । सहयोगीहरू जुट्नाले नाम, दाम र इनाम हात पार्न सफल भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यो साता बन्धुबान्धव, दाजुभाइ र साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सप्ताहान्तमा कामको सन्दर्भमा रमाइलो यात्रा र अतिरिक्त आम्दानी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ । सानो प्रयत्नले ठुलो काम सम्पादन हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । व्यावसायिक काममा सामान्य फाइदा छ । विभिन्न भौतिक साधन जुट्नेछन् । लगनशीलताले नाम, दाम र इनाम दिलाउन सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । पारिवारिक भेटघाटको समय छ । प्रतिस्पर्धीसमेत सहयोगीका रूपमा देखापर्नेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकांक्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिँड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् । सप्ताहान्तमा विद्यार्थीका लागि सुखद समाचार आउला । विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । आँटेका काममा सफलता आर्जन गर्न सकिनेछ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिनेछ । प्रशंसकले साथ दिनेछन् । बिहीबारदेखि अलि जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) उद्योग तथा व्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिनेछ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्नेछ । पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिनेछ । लेनदेन र हिसाबकिताबमा सावधान नहुँदा बिचमा केही विवाद हुन सक्छ । सप्ताहान्तमा स्थिति अनुकूल हुनाले लक्ष्यमा पुगिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्मविश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । सप्ताहान्तमा स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । सोखले खर्च गराए पनि उद्देश्य पूरा नहुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । सप्ताहान्तमा आगन्तुकले अलमल्याउने हुँदा चिताएको काममा पनि बाधा पुग्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ । बिहीबारदेखि श्रम र व्यवसायबाट मनग्य आम्दानी हुनेछ । तर, सप्ताहान्तमा पछिका लागि खर्च पनि गर्नुपर्ला ।