जेन–जी प्रदर्शनका क्रममा २४ भदौमा कारागारबाट भागी प्रहरी कार्यालयमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ७, घारीपाटन बस्ने २६ वर्षका विवश जलारी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। प्रहरीले जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानन कम्पनीको डिजिटल क्यामेरा एक थान र नम्बर प्लेट नभएको २०० सिसीको बजाज एनएस मोटरसाइकल एक थानसहित पक्राउ गरेको हो।
कारागार कार्यालय कास्कीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थुनामा रहेका जलारी २४ भदौमा भागेर वडा प्रहरी कार्यालय बैदाममा लुटपाट तथा चोरी गर्न पुगेका बस्नेतले बताए। प्रहरी नियन्त्रणमा रहेका जलारीलाई शुक्रबार कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवसम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।