ल्हासाबाट काठमाडौंलाई सहयोग सामग्री हस्तान्तरण

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ल्हासा पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजले नेपाल–चाइना सिस्टर सिटी फ्रेन्डसिप एसोसिएसनलाई सहयोग सामग्री प्रदान गरेको छ।

ल्हासामा आयोजित विशेष कार्यक्रममा ल्हासा पिपुल्स एसोसिएसनका अध्यक्ष तथा ल्हासा नगर परराष्ट्र मामिला कार्यालयका निर्देशक लिउ फुपिङले सहयोग सामग्री नेपाल–चाइना सिस्टर सिटी फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष दीपक सरकारलाई हस्तान्तरण गरेका हुन्।

सहयोग सामग्री हस्तान्तरणसँगै दुवै पक्षले सहयोग प्रमाणपत्र आदान–प्रदान गरेका थिए। त्यस अवसरमा लिउ फुपिङले विगतका वर्षहरूमा ल्हासा र काठमाडौंबिच विभिन्न क्षेत्रमा फलदायी आदान–प्रदान र सहकार्य भएको बताउँदै भने, ‘गत १४ वर्षमा ल्हासाले काठमाडौंलाई करिब एक करोड १७ हजार युआनको सहयोग गरेको छ, जसमा सौर्य उपकरण, सहरी निर्माण सामग्री र महामारीविरुद्धका स्वास्थ्य सामग्रीहरू समावेश छन्। विशेषगरी २०१५ को नेपाल भूकम्प र कोभिड– १९ महामारीका कठिन समयमा दुवै सहरले एक–अर्कालाई सहयोग गरेका थिए।’

काठमाडौं र ल्हासाबिच सन् २०११ मा सिस्टर सिटी सम्बन्ध स्थापना गरिएको हो। त्यसयता दुवै सहरबिच व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा आदान–प्रदान भ्रमणलगायतका सहकार्य कार्यक्रमहरू हुँदै आएका छन्।

सहयोग सामग्री ग्रहण गर्दै अध्यक्ष सरकारले चिनियाँ सहयोग यस वर्ष पनि विभिन्न समुदायहरूमा वितरण गरिने जानकारी दिए। सहयोग सामग्रीमा कम्प्युटर, जेनेरेटर, टेबुलटेनिस बोर्डलगायत समावेश छन्। उनले दुवै सहरबिच १३०० वर्षभन्दा पुरानो मित्रता र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै व्यापार, संस्कृति र पर्यटन क्षेत्रका थप गतिविधि सञ्चालन गर्न जोड दिए।

ल्हासा नेपालसँग प्रत्यक्ष हवाई उडान स्थापना गर्ने चीनको पहिलो सहर हो। हाल नेपाल–चाइना संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले काठमाडौं र पोखराबाट ल्हासासम्म प्रत्यक्ष उडान सञ्चालन गर्दै आएको छ।

ल्हासामा बसोबास गर्ने नेपालीहरू त्यहाँको सबैभन्दा ठुलो विदेशी समुदाय हुन्। धेरै नेपाली पुस्तौँदेखि ल्हासामा स्थायी रूपमा बसोबास गर्दै आएका छन् र ल्हासालाई आफ्नो ‘दोस्राे घर’का रूपमा हेर्ने गरेका छन्।

सुझावित समाचार