- तेजस्वी बिहारका मुख्यमन्त्री बन्न हतारमा रहेका एक युवाका रूपमा देखा पर्नुले उनको अपरिपक्वतालाई प्रतिबिम्बित गर्छ
केही दिनअघि राष्ट्रिय जनता दल (आरजेडी) ले बिहार विधान सभा निर्वाचनमा १४३ सिटमा उम्मेदवारी दिने घोषणा गर्यो । यसअघि एक साहसिक र सम्भवत: अस्थिर कदममा आरजेडी नेता तेजस्वी यादवले विधानसभाका सबै २४३ सिटमा उम्मेदवारी दिने आफ्नो मनसाय व्यक्त गरेका थिए । ‘यसपटक तेजस्वीले सबै २४३ सिटमा उम्मेदवारी दिनेछ । चाहे त्यो बोचाहन होस् वा मुजफ्फरपुर, तेजस्वीले प्रतिस्पर्धा गर्नेछ,’ यादवले भनेका थिए, ‘तपाईंहरू सबैलाई मेरो अपिल छ कि मेरो नाममा मतदान गर्नुहोस् । तेजस्वीले बिहारलाई अगाडि बढाउन काम गर्नेछ । हामी सबै मिलेर काम गर्नुपर्छ र यो सरकारलाई गिराउनुपर्छ ।’
मुजफ्फरपुरनजिकै एक सार्वजनिक सभामा गरिएको सो घोषणा केवल चुनावी रणनीति मात्र थिएन, यसले सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को विरोधमा रहेका अन्य धेरै साना दलद्वारा गठित महागठबन्धनको संरचनालाई पनि चेतावनी थियो ।
यादवको धारणा गठबन्धनभित्र चुलिँदो तनाव, विशेषगरी नोभेम्बरको विधानसभा चुनावमा महागठबन्धनले जितेमा अर्को मुख्यमन्त्री को हुनेछ भन्ने सम्बन्धमा र सिट बाँडफाँडसम्बन्धी अन्योल र प्रश्न खडा भइरहेका वेला आएको थियो । अन्य साना गुटसँगै कंग्रेसले जित्न सक्ने सिटहरूको ठुलो हिस्सा आफूले चाहेको बताउँदै आएको थियो, जसका कारण एनडिएविरुद्धको संयुक्त मोर्चामा गहिरो विवाद उत्पन्न भएको छ । कुनै वेला सबै सिटमा लड्ने आफ्नो अभिप्रायलाई जोड दिँदै आएका यादवले यी मागलाई मात्र बेवास्ता गरेनन्, बरु आफूलाई महागठबन्धनको चुनौतीरहित पात्रका रूपमा पनि खडा गरे । तथापि, यादवको एकतर्फी घोषणालाई महागठबन्धनको प्रमुख घटक कंग्रेसले समर्थन गरेको थिएन ।
३६ वर्षीय तेजस्वी बिहारका मुख्यमन्त्री बन्न हतारमा रहेका एक युवाका रूपमा देखा परेका छन् । यसले उनको अपरिपक्वतालाई प्रतिबिम्बित गर्छ । यसले विशेषगरी स्थापित सत्तारुढ दललाई चुनौती दिन चाहने कुनै पनि गठबन्धनका लागि आवश्यक सामूहिक भावनालाई नजरअन्दाज गर्छ । केही साताअघि सम्पन्न १६ दिने मतदाता अधिकार र्यालीमा उत्पन्न उत्साह गठबन्धन संस्कृतिको उद्देश्य र एकताको प्रतिबिम्ब थियो । र्यालीमा कंग्रेस नेता राहुल गान्धी र यादव स्वयं काँधमा काँध मिलाएर उभिएका थिए । अब, यादवको एकतर्फी घोषणाले त्यो क्षणमा लामो बादल लागेको छ, जसले समर्थकमा द्विविधा र निराशाको जोखिम निम्त्याउन सक्छ ।
गठबन्धनको राजनीतिमा हल्का स्वार्थ सन्तुलन आवश्यक पर्छ । यादवको यसअघिको घोषणालाई महागठबन्धनले मूर्त रूप दिने सहयोग र सम्झौताको सिद्धान्तको अपमानको रूपमा हेर्न सकिन्छ । कुनै वेला प्रत्येक सिटमा उम्मेदवारी दिने आफ्नो मनसाय देखाएका उनले गठबन्धन धर्मलाई प्रभावकारी रूपमा तोडेका थिए, जसले आगामी चुनावमा एनडिएलाई ठुलो चुनौती दिन सक्ने एकतालाई नै धरापमा नपार्ला भन्न सकिँदैन ।
यादवको कदमले गहिरो प्रभाव पार्ने देखिन्छ । यसले कंग्रेस र गठबन्धनका अन्य साना सहयोगीलाई अलग्याउने जोखिम मात्र होइन, आरजेडीभित्रै पनि दरार सिर्जना गर्न सक्छ । यदि घटकहरूले आफ्ना नेतामा एकताको कमी महसुस गरे भने गठबन्धनको आधार डगमगाउने मात्र होइन, यही कारणले मतदाता उदासीन हुन सक्छन् वा अझ खराब त एनडिएतर्फ आकर्षित हुन सक्छन् । राजनीतिक बफादारी प्राय: कमजोर हुने गरेको र संयुक्त मोर्चाको वाचामा निर्भर रहेन भने बिहारजस्तो राज्यमा आन्तरिक कलह विनाशकारी हुन सक्छ ।
बिहार विधानसभा चुनाव नजिकिँदै गर्दा गठबन्धनले यस राज्यले सामना गरिरहेका गम्भीर मुद्दा, गरिबी, अशिक्षा, बेरोजगारी र पूर्वाधारको अभावजस्ता विषयलाई सम्बोधन गर्ने एकीकृत दृष्टिकोण व्यक्त गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ । सामूहिक रणनीतिभन्दा आफ्नो व्यक्तिगत महत्वाकांक्षालाई प्राथमिकता दिएर कसैले पनि आफ्नो कमजोरी एनडिएलाई सुम्पन खोजेमा यसको फाइदा निश्चय पनि विपक्षीलाई नै हुनेछ ।
चुनावअघि सी–भोटर नामक संस्थाले गरेको एक सर्वेक्षणमा वर्तमान मुख्यमन्त्री नितीशकुमार र जनसुराजका नेता प्रशान्त किशोर र अन्यको तुलनामा तेजस्वी यादव बिहारको अर्को मुख्यमन्त्री बन्नका लागि सबैभन्दा उपयुक्त उम्मेदवार हुन् । तर, यादवको लोकप्रियता फेब्रुअरीमा ४० प्रतिशतबाट घटेर अप्रिलमा ३५.५ प्रतिशतमा झरेको थियो । चुनाव घोषणा भएपछि र आधिकारिक अभियान सुरु भएपछि यस्तो घट्दो लोकप्रियताको ग्राफले पार्टी कार्यकर्ताको मनोबल घट्न सक्छ । विशेषगरी यादवले मनोमानी र आफ्नै हिसाबले निर्णय लिने जोखिम मोले पनि उनको लोकिप्रयता निरन्तर नघट्ला भन्न सकिँदैन ।
सारमा, तेजस्वी यादवको घोषणा केवल राजनीतिक रूपमा गलत हिसाब मात्र होइन, यो एउटा जोखिमपूर्ण खेल हो, जसले महागठबन्धनको व्यवहारलाई खतरामा पार्न सक्छ । यदि यादवले यो गठबन्धनलाई प्रभावकारी ढंगले नेतृत्व गर्ने हो भने उनले यो कुरा स्वीकार गर्नुपर्छ कि एकताको बल एकपक्षीय घोषणामा होइन, सहकार्यमा निहित छ । बिहारले महत्वपूर्ण चुनावी लडाइँका लागि तयारी गरिरहेका वेला जोखिम कहिल्यै उच्च भएको छैन र एकताबद्ध विपक्षको आवश्यकता यसअघिभन्दा अहिले झनै जरुरी देखिन्छ ।
(झा एनडिटिभीका सल्लाहकार सम्पादक हुन्)
एनडिटिभीबाट