मलेसियाले कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीका लागि जारी गरेको नयाँ मापदण्डबारे के भन्नुहुन्छ ?
मैले पनि बुधबार परराष्ट्र मन्त्रालयसँग आधिकारिक रूपमा बुझ्दा नयाँ मापदण्ड लागू गर्नका लागि मलेसियाले पत्राचार गरेको थाहा पाएँ । खासमा मलेसियाले अहिले जसरी म्यानवापरको परीक्षण गर्दै आएको छ, त्यसलाई नै थप व्यवस्थित गरेर जानुपर्ने हो । तर, मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्नका खातिर यो सबै भइरहेको छ । त्यसैले, मलेसियाको यो कदममा हाम्रो विरोध छ ।
मलेसियाले नयाँ मापदण्ड लागू गर्न दबाब देला नि त ?
हैन, यो दुई देशको पारस्परिक सम्बन्ध र हितको कुरालाई ध्यान दिएर सम्मानजनक हिसाबले नयाँ मापदण्डका लागि गरिएको पत्राचार फिर्ता हुनुपर्छ भनेर हामी व्यवसायीले माग राख्छौँ । तर, जबर्जस्ती लागू गर्न खोजियो भने यसले अर्को दुर्गति निम्त्याउन सक्छ । कुनै पनि कुराको प्रलोभनमा नपरी व्यावसायीक एकता कायम गर्दै सबैले एकजुट भई यो कदमको विरोधमा उत्रनुको विकल्प छैन ।
नेपालमा दर्ता भएका म्यानपावरका लागि मलेसियाले मापदण्ड तोक्नु कति उचित हो ?
मुख्य समस्या नै त्यही हो । मलेसियाको कानुन उनीहरूले मान्ने हो । हामी नेपालको कानुनअनुसार दर्ता र नवीकरण भई सञ्चालनमा आइरहेका छौँ । नियमानुसार हामीलाई सरकारले इजाजत दिइसकेपछि अन्य देशले यसो गर्ने, उसो गर्ने भन्न कुनै हालतमा मिल्दैन ।