- आठ महिनामा सात अन्तर्राष्ट्रिय खेलमा नेपाललाई एक जित, दुई बराबर र चार हार नतिजा दिलाएका नेपाली पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बुधबार एन्फालाई बुझाए राजीनामा
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले २७ कात्तिकमा बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । तर, मैत्रीपूर्ण खेलअगाडि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बुधबार राजीनामा दिएका छन् । अस्ट्रेलियन नागरिक म्याटको राजीनामासँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कसलाई जिम्मेवारी दिने भन्ने निर्णय गरेको छैन । म्याटले एन्फा महासचिव किरण राईलाई इमेलबाट राजीनामाको जानकारी दिएका हुन् ।
महासचिव राईले नयाँ प्रशिक्षक चयनका लागि प्रक्रिया अगाडि बढाउने बताए । ‘म्याटको राजीनामा आएको छ । एन्फाले चाँडै नयाँ प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया बढाउनेछ,’ राईले भने । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रदर्शन खराब भएपछि नैतिकताका आधारमा म्याटले राजीनामा दिएका हुन् । गत वर्षको १८ फागुनमा एन्फा र म्याटबिच एक वर्षको सम्झौता भएको थियो । त्यसवेला एन्फाले पत्रकार सम्मेलन गरी अस्ट्रेलियन प्रशिक्षकसँग सम्झौता गरेको घोषणा गरेको थियो ।
तर, म्याटले सम्झौताअनुसारको अवधि पूरा नगरी चार महिनाअघि नै राजीनामा दिए । उनको प्रशिक्षणमा नेपालले सात अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा नेपालले एक मात्र जित हात पार्यो । उनले पहिलो अन्तर्राष्ट्रिय खेलमै सिंगापुरमाथि १–० को जित दिलाएका थिए । त्यसपछि नेपालले म्याटको प्रशिक्षणमा गतिलो प्रदर्शन गर्न सकेन । नेपालले दुई खेलमा बराबरी र चार खेलमा हार सामना गर्यो । एएफसी एसिया कप छनोटमा नेपालले एक खेलमा पनि जित निकाल्न सकेको छैन । नेपाल पहिलोपटक लाओससँग २–१ ले पराजित भएको म्याटकै कार्यकालमा हो । नेपालले हङकङ र बंगलादेशसँग गोलरहित बराबरी खेल्यो । उनको प्रशिक्षणमा नेपालले मलेसियासँग एक र भियतनामसँग दुई खेलमा हारको सामना गर्यो ।
एएफसी एसिया कपअन्तर्गत भियतनामविरुद्धको छनोट खेलमा उनले दुई पहेँलो कार्डको व्यहोरेका थिए । जसकारण म्याट भियतनामसँगको प्रतिस्पर्धामा टचलाइनमा उभिएनन् । यसअघि नेपाली राष्ट्रिय महिला टोलीका प्रशिक्षक प्याट्रिक डीले पनि एकवटा अन्तर्राष्ट्रिय प्रतियोगितापछि राजीनामा दिएका थिए । प्याट्रिकले एन्फाको व्यवस्थापनमाथि प्रश्न उठाउँदै राजीनामा दिएका थिए । प्याट्रिकको राजीनामा आउनुको पछाडि एन्फाको कार्यशैली नै मुख्य दोष मानिएको छ ।
स्वदेशी प्रशिक्षकले जिम्मेवारी पाउने सम्भावना
अस्वाभाविक रूपमा म्याटको राजीनामापछि पुरुष टोलीको प्रशिक्षण कसले गर्ने भन्ने प्रश्न उठेको छ । एएफसी र फिफाले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हुन कम्तीमा प्रो लाइसेन्स हुनुपर्ने नियम बनाएको छ । नेपालले दुई सातापछि बंगलादेश र एएफसी एसिया कप, २०२६ को छनोटमा मलेसियाविरुद्ध खेल्ने तालिका छ । एन्फाले छोटो अवधिका लागि स्वदेशी प्रशिक्षकलाई जिम्मेवारी दिने प्रक्रिया अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय खेलका लागि प्रो लाइसेन्स आवश्यकता रहँदा एन्फाले अन्तरिम प्रशिक्षकका लागि एएफसीसँग अनुमति माग्ने तयारी गरेको छ । एन्फाले छिट्टै एएफसीलाई पत्र पठाउनेछ । एएफसीले स्वीकृति दिँदा बंगलादेश र मलेसियसँगको खेलमा स्वदेशी प्रशिक्षकले नेपाली टोलीको प्रशिक्षण गर्नेछन् । अहिले महिला टोलीको मुख्य प्रशिक्षकका रूपमा नवीन न्यौपाने छन् । न्यौपानेको प्रशिक्षणमा नेपाली टोलीले तीन दिनको अन्तरमा भारतलाई दुईपटक हराएको थियो ।
लिग गराउन सरकारसँग सहयोग माग्दै एन्फा
एन्फा महासचिव राईले सहिद स्मारक ‘ए’ डिभिजन लिग प्रतियोगिता आयोजना गर्न पर्याप्त बजेट नभएको बताएका छन् । लिग आयोजनाका लागि सरकारले सहयोग गर्नुपर्ने राईले बताए । खेलकुदमन्त्री बब्लु गुप्तासँग बिहीबार मन्त्रालयमा भएको छफलफमा उनले सरकारसँग लिग आयोजनाका लागि आर्थिक सहयोगको गुहार मागेका हुन् । ‘लिग आयोजना गर्न १० देखि ११ करोड खर्च हुन्छ । हामीले निवर्तमान खेलकुदमन्त्री तेजुलाल चौधरीसँग पाँच करोड माग गरेका थियौँ, तर ४० लाख मात्र विनियोजन भयो,’ राईले भने, ‘अहिले सरकारबाट थप सहयोगको अपेक्षा राखेका छौँ ।
फिफा र एएफसीबाट प्राप्त रकम सिधै लिगमा लागि खर्च गर्न मिल्दैन ।’ पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फाले एकपटक मात्रै शीर्ष डिभिजन लिग आयोजना गरेको छ ।