तिला गाउँपालिकाका धेरैजसो गाउँबस्तीमा सिँचाइ सुविधा नभएको सुक्खा भूगोल रहेको छ । गाउँपालिकाको रारागाउँ, ढिमकोट, चुलाकोट, स्यालालुमसेराजस्ता गाउँबस्तीमा सिँचाइ सुविधा छैन । यिनै गाउँबस्तीमा कतै पानीको स्रोत छैन भने कतै पानीको स्रोत भए पनि सिँचाइ गर्ने कुलो (नहर) छैनन्। जहाँका किसान आकासेपानीको भरमा अन्नबाली र फलफूलका बोटबिरुवा रोप्ने गर्दछन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण सुक्खा खडेरी पर्ने र अन्नबाली, बोटबिरुवा रोप्ने वेला पानी नपर्नेजस्ता समस्या छन् । जसले गर्दा स्थानीयस्तरमै राम्रो उत्पादन नहुने भएकाले ६ महिना पनि खान पुग्दैन । जसका कारण ज्याला–मजदुरीका लागि नागरिक जिल्लाबाहिर जाने गर्दछन् ।
यही समस्यालाई मध्यनजर गर्दै उत्पादन बढाउने र स्थानीयस्तरमै स्वरोजगार बनाउने उद्देश्यले किर्डाक नेपाल जुम्लाले तिला गाउँपालिका जुम्लासँग सहकार्य गरी एफएओको सहयोगमा कृषिसँग सम्बन्धित जलवायुमैत्री परियोजना सञ्चालन गरेको हो । परियोजनाले १२ वटा जलवायुमैत्री कृषि समूह गठन गरी प्रतिट्यांकी ७० हजार रुपैयाँ लागतमा २० हजार लिटरका ६ वटा जलवायुमैत्री सिँचाइ ट्यांकी निर्माण गरेको छ । हिउँदे–बर्खे आकासेपानी संकलन गर्ने र सुक्खा सिजनमा सिँचाइ गर्ने उद्देश्यले जलवायुमैत्री सिँचाइ ट्यांकी निर्माण गरेको हो ।
तिला गाउँपालिका– ५ ढिमकोट गाउँका अगुवा किसान नरबहादुर शाहीको उत्पादन दिने तीन सय बिरुवा छन् । उनले यस वर्ष मात्रै एक लाख रुपैयाँ आम्दानी गरेका छन् । यस्तै, उनको स्याउ र ओखरको बिरुवा (नर्सरी) पनि छ । यसबाट पनि उनले आम्दानी लिने गरेका छन् । सुक्खा सिजनमा ट्यांकीमा संकलन भएको पानीले स्याउको बिरुवामा सहज भएको उनी बताउँछन् ।
तिला गाउँपालिका– १ रारागाउँका अगुवा किसान महेन्द्र बुढाका अनुसार यस परियोजनाले कृषि क्षेत्रमा निकै सहयोग पुगेको छ। उनले स्याउ बगैँचाको व्यवस्थापनदेखि रोगकिरा नियन्त्रणमा टेवा पुगेको, जलवायुमैत्री कृषि पाठशाला सञ्चालन गर्ने गरेको र यसले किसानलाई झोल मल बनाउनदेखि स्थानीयस्तरमै कीटनाशक विषादी बनाउन सिकाएको बताए ।
किर्डाक नेपाल जुम्लाका परियोजना संयोजक पुंखेश्वर भामका अनुसार तिला गाउँपालिकाको नौवटै वडामा जलवायुप्रेरित आप्रवासनको जोखिममा रहेका समुदायमा उत्थानशीलता र सशक्तीकरणमा वृद्धि परियोजना गत फागुनदेखि सञ्चालन गरिएको हो । उनका अनुसार परियोजनाअन्तर्गत १२ वटा जलवायुमैत्री कृषि पाठशाला समूह रहेका छन् । यिनै समूहअन्तर्गत नाैजना सहजकर्ता पनि छन् । यस परियोजनाबाट ६ सय नागरिक लाभान्वित भएका छन् । कृषि सहजकर्ताले १२ वटा कृषि पाठशाला समूहमा गत फागुन महिनादेखि कक्षा सञ्चालन गर्दै आएका छन् । कृषि पाठशालामा स्याउ बगैँचा व्यवस्थापनदेखि मल, जैविक विषादी, तरकारी खेतीजस्ता कक्षाहरू सञ्चालन हुँदै आएका छन् ।
परिपूरणको रूपमा काम गर्दै आएका गैरसरकारी निकायका परियोजनाले स्थानीय सरकारलाई पनि सहज भएकाे तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । उनले भने, ‘नागरिकका सबै समस्या सरकारी तवरबाट समाधान हुन सकेका हुँदैनन् । समस्या समाधान हुन नसकेका ठाउँका समस्या यस्ता परियोजनाले समाधान गर्ने गरेका छन्। जसले गर्दा स्थानीय सरकारलाई सहज भएको छ ।’
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा परियोजना सल्लाहकार समितिका संयोजक गौरीनन्द आचार्यका अनुसार परियोजना प्रभावकारी रहेको छ । यसको प्रभावकारिताका विषयमा स्थानीय किसानसँगै प्रत्यक्ष अनुगमन पनि गरेका छौँ । उनले भने, ‘छोटो अवधिको परियोजना भए पनि समुदायमा यसको प्रत्यक्ष प्रभाव परेको छ । किसानलाई राहत मिलेको देखिन्छ ।’