प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनुका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताए ।
प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इन्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इन्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरे । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए । इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।