ट्रम्पले स्विकारे तेस्रो कार्यकाल उठ्न नपाउने व्यवस्था

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधानमा तोकिएका सीमा स्वीकार गर्दै तेस्रो कार्यकालका लागि उम्मेदवार हुन नसक्ने स्विकारेका छन् । साथै उनले यसप्रति पछुतो व्यक्त गरेका छन् । ‘संविधान पढ्नुभयो भने सबै कुरा स्पष्ट छ,’ ट्रम्पले बुधबार जापानबाट दक्षिण कोरिया जाँदै गर्दा राष्ट्रपति चढ्ने विमान ‘एयर फोर्स वान’मा पत्रकारलाई सम्बोधन गर्दै भने, ‘म (फेरि) उम्मेदवार हुन सक्दिनँ, जुन धेरै नराम्रो कुरा हो ।’

ट्रम्पले तेस्रो कार्यकाल पनि राष्ट्रपति हुन सक्ने सम्भावना अस्वीकार नगरेको प्रतिक्रिया दिएको केहीपछि ट्रम्पको पछिल्लो टिप्पणी आएको हो । अमेरिकी संविधानको २२औँ संशोधनले राष्ट्रपतिको कार्यकाल दुई कार्यकालमा सीमित गरेको छ । 

जनवरीमा दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले तेस्रो कार्यकाल उठ्न संविधान संशोधन गर्नुपर्ने हुन्छ । अमेरिकाको संविधानको कुनै संशोधनले झन्डै एक दशक लामो समय लिन सक्छ, संशोधनलाई देशका पचासमध्ये तीनचौथाइ राज्यको विधायिकी र कंग्रेसको उत्तिकै संख्याले अनुमोदन गर्नुपर्ने हुन्छ । 

गत हप्ता मात्रै ट्रम्पका पूर्वरणनीतिकार स्टिव ब्याननले ७९ वर्षीय ट्रम्पले थप कार्यकालको लागि उम्मेदवारी दिन सक्ने विषयमा तयारी गरिरहेको बताएका थिए । लगत्तै तल्लो सदनका सभामुख माइक जोनसन र ट्रम्पबिच मंगलबार यस विषयमा छलफल भएको र तेस्रो कार्यकाल असम्भव रहेको निष्कर्ष निकालेको बताइएको छ ।

ट्रम्पका समर्थकमाझ भने सिद्धान्तले व्यापकता पाएको छ, जसअनुसार आगामी निर्वाचनमा अहिलेका उपराष्ट्रपति जेडी भान्स राष्ट्रपति उम्मेदवार र ट्रम्प उनका उपराष्ट्रपति उम्मेदवार बन्नेछन् । उपराष्ट्रपतिका रूपमा उम्मेदवार दिएर जितेपछि राष्ट्रपतिले पद त्यागेर ट्रम्पलाई राष्ट्रपति बनाउने रणनीतिबारे सोध्दा उनले यो विचार अति बचपना भन्दै खारेज गरे । ‘मलाई त्यस्तो गर्ने अनुमति भए पनि म त्यस्तो गर्दिनँ,’ ट्रम्पले भने ।

See More On

सुझावित समाचार