- लगातार ६ वर्षदेखि नामिबियाको नेतृत्व गरिरहेका जेहार्ड इरसमसले दोस्रो संस्करणमा पनि काठमाडौं गोर्खाजबाट प्रतिस्पर्धा गर्नेछन्
नामिबियाका कप्तान जेहार्ड इरसमसले काठमाडौं गोर्खाजबाट लगातार दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । काठमाडौं स्पोर्टस् डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले दोस्रो विदेशी खेलाडीका रूपमा इरसमसलाई भित्र्याएको हो । उनले सन् २०१९ देखि लगातार नामिबियाको राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्दै आएका छन् । इरसमसले २०२३ र २०२४ मा आइसिसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए ।
२०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर हुने क्रममा इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्ध विश्व क्रिकेट लिग २ का खेलमा २८ रन खर्चेर पाँच विकेट लिएका थिए । जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । उनले दुई वर्षअघि एकै सिजनमा चार अर्धशतक पनि प्रहार गरेका थिए । जसमा वेस्ट इन्डिजमा भएको आइसिसी टी–२० विश्वकपमा स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन बनाएका थिए । उनले २०२४ मा टी–२० आईमा कुल १८ विकेट लिएका थिए ।
काठमाडौंको टोलीसँग उनी यसअघि नै परिचित छन् । एनपिएलको पहिलो संस्करणमा उनले टोलीको उपकप्तानको भूमिका निर्वाह गरेका थिए । पहिलो संस्करणमा उनले सात खेलमा १३७ भन्दा माथिको स्ट्राइकरेटमा ११० रन बनाए । साथै ११.९० को औसतमा ११ विकेट लिए । ‘गत सिजन इरसमसले काठमाडौंबाट उत्कृष्ट खेलेका थिए, यस वर्ष अझ राम्रो खेल्नेछन् भन्ने विश्वास लिएका छौँ,’ काठमाडौंका प्रशिक्षक वसन्त शाहीले भने, ‘उसको आगमनले हामीलाई धेरै फाइदा पुगेको थियो ।’
एसोसिएटका उत्कृष्ट अलराउन्डर
इरसमस एसोसिएट क्रिकेटकै उत्कृष्ट अलराउन्डर र फिल्डर हुन् । काठमाडौंले विश्वस्तरीय खेलाडीलाई प्रतिस्पर्धा गराउँदा एनपिएलमा प्रभावकारी हुने अपेक्षा प्रशिक्षक शाहीले गरेका छन् । ३० वर्षे इरसमसले नामिबियाबाट ६३ एकदिवसीय खेलमा ३८.२१ को औसतमा दुई शतक र १७ अर्धशतक प्रहार गरेका छन् । उनले ५० ओभरको फम्र्याटमा दुई हजार १७८ अन्तर्राष्ट्रिय रन बनाएका छन् । ७७ टी–२० आईमा उनले एक शतक र १३ अर्धशतकका साथ १२४ भन्दा माथिको स्ट्राइकरेटमा एक हजार ८३३ रन बनाइसकेका छन् ।