चोटले सताइरहेका जोकोभिकले सिजन गुमाए

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

कीर्तिमानी २४ ग्रान्डस्लाम विजेता सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिकले पेरिस मास्टर्सबाट नाम झिकेका छन् । सिजनको अन्त्यतिर जोकोभिकले पेरिसमा उत्कृष्ट पुनरागमन गर्ने लक्ष्य राखेका थिए । तर, चोटका कारण उनी प्रतियोगितामा सहभागी नहुने भएका हुन् । ३८ वर्षीय जोकोभिकलाई घुँडामा चोट लागेको छ । 

सांघाई मास्टर्सको सेमिफाइनलमा उनी क्वालिफायर भालेन्टिन भाचेराटबाट पराजित भएका थिए । गत साता पनि चोट बल्झिँदा जोकोभिकले साउदी अरेबियामा टेलोर फिट्जविरुद्धको खेल बिचमै त्यागेका थिए । अर्को साता पेरिसमा हुने एटिपी एक हजार इभेन्टमा खेल्न नपाउँदा खल्लो लागेको जोकोभिकले बताएका छन् । ‘पेरिसमा खेल्ने योजना थियो, तर चोटले खेल्ने अवस्थामा छैन,’ उनले भने, ‘शरीरले साथ दिइरह्यो भने अर्कोपटक पक्कै आउनेछु ।’ 

पछिल्लो वर्ष खासै समस्या सामना नगरेका जोकोभिकले यस सिजनमा नसोचेको नतिजा हात पारेको बताएका छन् । केही साता विश्राम लिने योजना बनाएका जोकोभिकले परिवारसँग बेल्गाडे जाने बताए । सन् २०२५ को टेनिस सिजनमा कार्लोस अल्काराज र जानिक सिनरपछि जोकोभिक सफल खेलाडीमा पर्छन् । ‘अहिले आराम पनि चाहिरहेको छ । परिवारलाई पनि समय दिनु छ,’ एटिपी पुरुष वरीयताको पाँचौँ स्थानमा रहेका जोकोभिकले भने ।

सुझावित समाचार