देखिन थाल्यो मोन्था चक्रवातको असर
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को असर नेपालमा बुधबार साँझबाट देखापरेको छ । मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको चक्रवात उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू–भागमा बुधबार भित्रिएको हो ।
यो प्रणालीले शनिबार बिहानसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीको मौसम प्रतिकूल हुने देखिन्छ । बिहीबारभन्दा शुक्रबार ठुलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
‘बुधबार साँझबाट बादल प्रवेश गरे पनि बिहीबारबाट वर्षा हुने देखिन्छ,’ उनले भने, ‘शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा देखिन्छ ।’ शुक्रबार कोशीका तराई र मधेश तथा बागमतीका केही स्थानमा ठुलो वर्षा तथा कोशी र बागमतीका हिमाली क्षेत्रमा बाक्लो हिमपातको आकलन गरिएको छ । यो प्रणालीले कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा कर्णालीका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार लुम्बिनीको पश्चिमी क्षेत्र, कर्णाली र सुदूरपश्चिममा भने चक्रवातको असर पर्नेछैन । तर, त्यस क्षेत्रमा पश्चिमी वायुको असरले बादल लाग्ने र केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । शनिबार दिउँसोबाट मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।
सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध
कोशी, मधेश, बागमती प्रदेशका सबै जिल्ला तथा दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा, नवलपुर जिल्लामा सतर्क रहनु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँमा मौसमको अद्यावधिक जानकारी लिएर बस्नु ।
वर्षाको चेतावनीपछि मधेशमा विपत् व्यवस्थापन समितिको बैठक
शुक्रबारदेखि ठुलो वर्षा हुने चेतावनीसँगै मधेश प्रदेश सरकार पूर्वतयारीमा जुटेको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले बुधबार प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठक राखी पूर्वतयारीमा जुट्न सुरक्षा निकाय तथा सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् । सोनलले प्रदेशका मुख्य नदी सप्तकोशी, बागमती, कमला, रातु र लखनदेहीको जलस्तर खतराको सीमाभन्दामाथि पुग्ने सम्भावना रहेकाले तटीय बस्तीको सुरक्षाका लागि प्रदेश सरकार सतर्क रहेको बताए । उनले नदी किनारका बस्तीलाई तत्काल सार्वजनिक धर्मशाला, स्कुल तथा सार्वजनिक भवनमा सर्नसमेत अपिल गरे । विपत् जोखिम न्यूनीकरणका लागि अधिकतम प्रयास गरिने र उपलब्ध सबै जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने उनले बताए ।
यस्तो छ दुई दिनको मौसम प्रक्षेपण
बिहीबार दिउँसो : कोशी, मधेश, बागमतीका धेरै स्थान, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात ।
राति : कोशी, मधेश र बागमतीका अधिकांश स्थान, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मध्यम वर्षा तथा बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा । कोशी, मधेश, बागमती, लुम्बिनीका एक–दुई स्थानमा ठुलो वर्षा । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा बाक्लो हिमपात ।
शुक्रबार दिउँसो : कोशी, मधेश, बागमतीका अधिकांश स्थान, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम वर्षा । कोशी, मधेश र बागमतीका थोरै स्थान तथा लुम्बिनीका एक–दुई स्थानमा ठुलो वर्षा । त्यस्तै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थान तथा कर्णालीका केही स्थान तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपात । कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा बाक्लो भारी हिमपात ।
राति : कोशी, मधेश र बागमतीका धेरै स्थान, गण्डकी तथा लुम्बिनीका थोरै स्थानमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा । कोशी, मधेश र बागमतीका थोरै स्थानमा ठुलो वर्षा । त्यस्तै, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपात । कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा बाक्लो हिमपात ।