काठमाडौं उपत्यकामा शृंखलाबद्ध रूपमा सिक्री लुटपाट गर्ने समूह पक्राउ परेको छ। सातजनाको सिक्री लुटेर मोटरसाइकलमा भाग्ने सिन्धुलीको हरिहरगढी गाउँपालिका– ६ घर भई सूर्यविनायक बस्ने राज लामा र उदयपुरको ताप्ले गाउँपालिका– ४ घर भएका दुर्गाबहादुर मगरलाई प्रहरी वृत्त स्वयम्भूले मंगलबार पक्राउ गरेको हो। उनीहरूले कम्तीमा सातजनाको सिक्री लुटेको प्रहरीले जनाएको छ । लामाले मोटरसाइकल चलाउने र पछाडि बस्ने मगरले गलामा लगाएको सिक्री लुट्ने गरेको प्रहरी वृत्त स्वयम्भूका डिएसपी मोहनमणि अधिकारीले बताए।
उनीहरूले लुटेको सुन किन्ने तीन सुनपसले पनि पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका– २, सल्लाघारीस्थित लक्ष्मी ज्वेलर्सका सञ्चालक दिलबहादुर विक, बुढानीलकण्ठ– ६ सरस्वतीनगरस्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक गोविन्द सुनार र काठमाडौं महानगरपालिका– २२ स्थित मनु जेम्स एन्ड ज्वेलर्सका सञ्चालक दिपेश रसाइली पक्राउ परेका हुन्।

सो समूहले असोजमा तीनजनाको र १ कात्तिकमा एकै दिन चारजनाको सिक्री लुटेका थिए ।
८ असोजमा ललितपुरको नक्खुडोलमा, २३ असोजमा नागार्जुनको सिंगल ट्री र २६ असोजमा ललितपुरको बुद्धचोकबाट उनीहरूले सुनको सिक्री लुटेका थिए।
१ कात्तिकमा उनीहरूले रामकोटको टेम्पो पार्कनजिकै, नागार्जुनको राधाकृष्ण मन्दिर, नागार्जुनकाे थापाचोक र बालाजुको नेपालटारबाट चारजनाको सिक्री लुटेका थिए। चोरीमा प्रयोग गरिएकाे मोटरसाइकल र बिक्री गरिएको सुनबाट प्राप्त रकमसमेत प्रहरीले बरामद गरेको छ ।