प्राध्यापक डा. सुमनराज ताम्राकारद्वारा लिखित ‘अर्बुद मन्थन : दीर्घजीवन’ नामक पुस्तक सार्वजनिक भएको छ । क्यान्सर रोगको लक्षण, पहिचान र निवारणबारे लिखित पुस्तक धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजू श्रेष्ठले सार्वजनिक गरे ।
बुधबार अस्पतालको सभाहलमा पुस्तक सार्वजनिक गर्दै डा. माकाजूले क्यान्सर रोग लाग्नुभन्दा अगाडि नै बुझेर रोकथाम गर्न सकिने र लागिहालेमा कसरी निदान गर्न सकिन्छ भन्नेबारे पुस्तकमा पढ्न पाइने बताए । यसले क्यान्सर रोग निदानमा सहयोग पुग्ने माकाजूले अपेक्षा गरे ।
मानव शरीरमा लाग्ने क्यान्सरबारे सरल नेपाली भाषामा चर्चा गर्ने प्रयास गरेको लेखक तथा स्त्रीरोग विशेषज्ञ सुमनराज ताम्राकारले बताए । क्यान्सरसम्बन्धी लक्षण, पहिचान र निवारण पुस्तकमा समेटिएको उनको भनाइ छ । ‘अर्बुद मन्थन : दीर्घजीवन’ पुस्तकमा तीन दर्जनभन्दा बढी प्रकारका क्यान्सर रोगबारे जानकारी, दुई दर्जनभन्दा बढी क्यान्सरसम्बन्धी सहायक स्टोरी र क्यान्सरसँग सक्बन्धित परीक्षण एवं उपचारका तौरतरिकासँग सम्बन्धित आधा दर्जनभन्दा बढी लेख समेटिएको लेखक ताम्राकारले जानकारी दिए ।
भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य ३५० रहेको छ । लेखक ताम्राकारको यसभन्दा अगाडि तपाईं गर्भवती हुनुहुन्छ ?, स्वास्थ्य बालकथाहरू, गठेमंगल लघुकथासंग्रह, पनौतीका चाडपर्वहरू र मकर मेला, नवजात शिशुहरूको नामावली, सांस्कृतिक धरोहर खण्ड १, मेरा दश साथी, गाँठी कुरा, लिटिल डाक्टर, नेवा नसाः, मात्र यौनका कुरा, एक शरीर दुई जीवन, पनौती अमाइथोलोजिकल, स्वस्थ महिला, स्वस्थ बालबालिका र इतिश्री उवाचलगायत पुस्तक प्रकाशित छन् ।