- अर्जेन्टिनी राष्ट्रपति मिलेईको सहयोगमा अब ट्रम्प दक्षिण अमेरिकी राष्ट्रमा अमेरिकी प्रभावको नयाँ युगको अध्यक्षता गर्न तयार छन्
आइतबार अर्जेन्टिनाका जनताले मध्यावधि निर्वाचनमा मतदान गरे, जसले असाधारण रूपमा उच्च स्तरको अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्यो । यो नतिजा आंशिक रूपमा वासिंटनले नगद संकटमा परेको ब्युनर्सल आयर्सलाई ४० अर्ब डलरको सम्भावित उद्धारको प्रतिज्ञा गरेका कारण सम्भव भएको थियो । मतदानअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नगद सहयोग चुनावी नतिजामा निर्भर रहेको स्पष्ट पारेका थिए । र, ट्रम्पका अति–दक्षिणपन्थी मित्र तथा अमेरिकाद्वारा विशिष्ट रूपमा आफ्नो खेलौना बनाइएका अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई निर्वाचनमा विजयी भए । प्रारम्भिक नतिजाअनुसार उनको पार्टी ला लिबर्टाड अभान्जाले ४० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै आश्चर्यजनक जित हासिल गर्यो । त्यसबाहेक अर्जेन्टिनाको तल्लो सदन च्याम्बर अफ डेपुटीका आधा सिट र सिनेटका एकतिहाइ सिटसमेत कब्जा गर्न पार्टी सफल भयो ।
ट्रम्पले स्वाभाविक रूपमा चुनावी उपलब्धिलाई व्यक्तिगत विजयका रूपमा लिन समय खेर फालेनन् । उनले दाबी गरे, मिलेईलाई ‘अमेरिकाको धेरै सहयोग थियो । चुनावअघि ट्रम्पले व्याख्या गरे, मिलेईप्रति उनको उदार इसारा ‘एक महान् देश कब्जा गर्न मद्दत गर्ने’ उनको आफ्नै तरिका थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि त्यस्तै तर्क गरे । अमेरिकाले मिलेईसम्म विस्तार गरिरहेको ‘सम्बन्ध’बाट ‘अर्जेन्टिना फेरि महान् हुन सक्छ’ भन्ने उनको आशय थियो । यसलाई दक्षिण अमेरिकी संस्करण– मेक अर्जेन्टिना ग्रेट अगेनको नाम दिँदा अतिशयोक्ति नहोला । तर, अमेरिकाको जस्तै इतिहासमा अर्जेन्टिना कहिले ठ्याक्कै, यति ‘महान्’ थियो भन्ने स्पष्ट छैन । अवश्य पनि अमेरिका समर्थित ‘डर्टी वार’का राम्रा पुराना दिन थिए, जतिवेला दक्षिणपन्थी सैन्य तानाशाहीले दसौँ हजार सन्दिग्ध वामपन्थीको हत्या र कैयौँलाई बेपत्ता पारेको थियो, जसमध्ये धेरैलाई विमानबाट समुद्र वा रियो डे ला प्लाटामा खसालिएको थियो ।
इतिहासकार ग्रेग ग्रान्डिनले आफ्ना अमर अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको जीवनीमा दस्ताबेजीकरण गरेझैँ किसिन्जरले १९७६ मा जुन्टाका विदेशमन्त्री एडमिरल सेजर अगस्टो गुजेट्टीलाई सल्लाह दिए, ‘यदि गर्नुपर्ने काम छन् भने तपाईंले ती चाँडै गर्नुपर्छ ।’ अर्को महान् ‘दर्शन’ । अब ट्रम्प दक्षिण अमेरिकी राष्ट्रमा अमेरिकी प्रभावको नयाँ युगको अध्यक्षता गर्न तयार छन् । र, हवाईजहाजबाट शव खसाल्ने दिन सकिए पनि दक्षिणपन्थी क्रूरताका लागि अझै प्रशस्त ठाउँ छ ।
आफूलाई ‘अराजक–पुँजीवादी’ भनेर परिभाषित गर्ने र २०२३ मा राष्ट्रपति पद सम्हालेका मिलेईले शासनप्रतिको आफ्नो दृष्टिकोणको प्रतीकका रूपमा सफलतापूवर्क राजनीतिक र्याली आयोजना गर्ने बानी बसालेका थिए । स्वास्थ्य सेवामा सुधार, शिक्षा र अन्य सार्वजनिक सेवामा खर्च घटाउने प्रतिबद्धता जनाएका थिए ।
मिलेईको मितव्ययिता कार्यक्रमको पहिलो ६ महिनामा अर्जेन्टिनामा गरिबी लगभग ५३ प्रतिशत पुगेको छ । मुद्रास्फीति र क्रयशक्ति दुवै घटेको छ । र सर्वेक्षणहरूले अधिकांश अर्जेन्टिनीले आफ्नो मासिक खर्च तिर्न पर्याप्त कमाइ गर्न नसकेका देखाएका छन् । आइतबारको विजय (ट्रम्पको विजय) ‘आक्रामक’ रणनीति कायम राख्नका लागि महत्वपूर्ण थियो, जसले जे भए पनि अर्जेन्टिनी जनताको केही विशिष्ट क्षेत्रका लागि राम्रो काम गरेको छ ।
अहिलेसम्म मिलेईको पार्टीले संसद्मा १५ प्रतिशतभन्दा कम सिट जितेको थियो । यसको अर्थ राष्ट्रपति विपक्षीको अनुकम्पामा शासन गर्न बाध्य हुनुपरेको थियो, जसका कारण अपांगता भएका व्यक्तिका लागि लाभ बढाउने र बाल स्वास्थ्य सेवा र विश्वविद्यालयका संसद्ले कोष पुनस्र्थापित गर्नेजस्ता विषयमा उनकोे भिटो उल्टिएको थियो । स्वाभाविक रूपमा मिलेईको ‘म्यानुपुलेटेड’ प्रयास ट्रम्पका लागि प्रिय छ, र अमेरिकी राष्ट्रप्रमुखले बारम्बार उनको बचाउमा बोलेका छन्, ‘सबैलाई थाहा छ कि उनी सही काम गरिरहेका छन् । तर, तपाईंसँग एक कट्टरपन्थी–वामपन्थी बिरामी संस्कृति छ, जुन मानिसको एक धेरै खतरनाक समूह हो र त्यसले उनलाई नराम्रो देखाउन खोजिरहेका छन् ।’
संयोगवश, मिलेईको सरकारले हिंसात्मक मितव्ययिता (खर्च कटौती गरेर, कर बढाएर र सरकारी सेवा घटाएर बजेट घाटा कम गर्न डिजाइन गरिएका सरकारी आर्थिक नीति) को विरोधमा प्रदर्शन गरिरहेका पेन्सनभोगी र अन्य प्रदर्शनकारीमाथि रबरको गोली र अश्रुग्यास प्रहार गरेर अपांगता भएका अर्जेन्टिनीको संख्या बढाउन प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गरेको छ । मार्चमा, ३३ वर्षीय जोनाथन नावारोले आफ्ना बुबा र अन्य सेवानिवृत्तका तर्फबाट विरोध गर्दा रबरको गोली लागेर एउटा आँखा गुमाउनुपरेको थियो ।
आफ्ना तर्फबाट शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको सैन्य प्रतिक्रियाको आवश्यकताप्रति नि:सन्देह सहानुभूति राख्ने ट्रम्पले हालै अर्जेन्टिनामा टोमाहक मिसाइल पठाउने सम्भावनाबारे मिलेईसँग विनम्रतापूर्वक ठट्टा गरे, ‘तपाईंको विरोधीलाई ठेगाना लगाउन ती मिसाइल चाहिन्छन् भन्ने मलाई लाग्छ ।’ ट्रम्प र मिलेईको इजरायली विषयमा पनि एकमत देखिन्छ । अगस्टमा अर्जेन्टिनाका राष्ट्रपतिले ल्याटिन अमेरिका र नरसंहारकारी राज्यबिचको सम्बन्ध बढाउन १० लाख डलरको पहल प्रस्ताव गरेका थिए । दुई नेताबिचको समानताको सूची लामै छ । ट्रम्पले भ्रष्टाचार वा नातावादलाई कहिल्यै तुच्छ ठानेका छैनन्, किनकि उनी हरेक विषयमा फाइदा लिने व्यक्ति हुन् । र, मिलेईले आफ्नी बहिनीलाई राष्ट्रपतिको महासचिव नियुक्त गर्न कुनै समय खेर फालेनन् । करिना मिलेईले आफ्नो भाइको प्रशासनलाई हल्लाउने विभिन्न घोटालामध्ये एकमा मुख्य भूमिका खेलेकी छिन् । कतिपय घोटालाले आइतबारको मध्यावधि चुनावमा उनको पार्टीको प्रदर्शनलाई खतरामा पार्ने जोखिमसमेत देखिन्थ्यो ।
(फर्नान्डेज अलजजिराका स्तम्भकार हुन्)
अलजजिराबाट