रविको मुद्दा छिटो टुंग्याइदिन रास्वपाको अपिल

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्धका मुद्दा छिटो टुंग्याइदिन सरकार र न्यायालयलाई अपिल गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले अघिल्लो सरकारले राजनीतिक प्रतिशोध साधेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको भन्दै वर्तमान सरकारले न्यायोचित व्यवहार गर्ने अपेक्षासमेत गरेको छ । 

बैठकपछि सचिवालय सदस्य एवं कानुन विभाग प्रमुख सोविता गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै मुद्दा फास्ट ट्रयाकमा टुंग्याउने पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘विगतको सरकारले प्रतिशोध साध्यो । मुद्दा उठानदेखि नै प्रतिशोध भएको हो । अहिले मुद्दा अदालतमा छ । अब कसरी फास्ट ट्रयाकमा लैजाने, मुद्दा छिटो टुंग्याइदिनुस् भनेर सार्वजनिक धारणा राखेका छौँ,’ उनले भनिन्, ‘अहिले सरकारमा भएका मन्त्रीहरूमध्ये अधिकांशले रवि लामिछानेमाथि प्रतिशोध साध्यो भन्नुभएको हो, सरकारमा गइसकेपछि के धारणा राख्नुहुन्छ, त्यो भन्नुपर्छ । होइन भने पनि भनिदिनुपर्यो । पछिल्लो परिवेशमा सरकारको धारणा के हो, यसलाई फास्ट ट्रयाकमा टुंग्याउने विषयमा भनिदिए हुन्थ्यो । अदालतको विषय अदालतले हेर्ला । तर, सरकारको तर्फबाट गर्ने काममा सरकार स्पष्ट हुनुपर्छ ।’ 

गौतमले मुद्दा टुंग्याइदिन सार्वजनिक फोरमबाट आफूहरूले निरन्तर आवाज उठाइरहेको भन्दै थपिन्, ‘हाम्रो सभापतिको मुद्दालाई फास्ट ट्रयाकमा टुंग्याउने के रहन सक्छ भनेर उहाँहरूले भनिदिनुभए हुन्थ्यो । सरकार अब कसरी प्रस्तुत हुन्छ, हेरिरहेका छौँ । सबैको आशा बोकेको नागरिक सरकार बनेको छ । न्यायोचित व्यवहार गर्छ भन्ने अपेक्षा गर्छाैँ ।’ महामन्त्री कवीन्द्र बुर्लाकोटीले न्यायका लागि सरकारले आफैँ कदम चाल्नुपर्ने बताए । उनले भने, ‘औपचारिक केही कुरा राखेका छैनौँ । सरकार आफैँले बुझेर गर्नुपर्छ । हाम्रोतर्फबाट गर्ने काम गरिरहेका छौँ ।’ 

See More On

सुझावित समाचार