एमाले अध्यक्ष केपी ओलीले चुनावका लागि विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गरी नयाँ सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार एमालेनिकट मानव अधिकारवादी संस्था ‘नेपाल मानव अधिकार अलायन्स’का प्रतिनिधिहरूसँगको भेटमा उनले संसदबाहिरको व्यक्ति पनि प्रधानमन्त्री हुन पाउने गरी चुनावका लागि नयाँ सरकार गठन गर्नुपर्ने आफ्नो विचार सुनाएका हुन् ।
सो भेटमा सहभागी एमाले केन्द्रीय सदस्य विष्णु रिमालका अनुसार प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गर्ने उनको प्रस्ताव छ । जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने उनले स्पष्ट पारेका छन् ।
जेन–जीसहितको सहभागितामा सर्वदलीय–सर्वपक्षीय सरकार गठन गर्ने र उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन गर्ने उनको मार्गचित्र छ । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव हुने ओलीको तर्क छ।
संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरूबिच अग्रिम सहमति निर्माण गर्नुपर्ने प्रस्ताव उनको छ ।
जेन–जी आन्दोलनले प्रधानमन्त्रीबाट अपदस्थ भएकाले ओलीले वर्तमान सरकार असंवैधानिक भएको भन्दै आलोचना गर्दै आएका छन् । अन्य दलहरू निर्वाचनमा जान तयार रहँदा पनि एमालेले चुनावमा नजाने घुर्की लगाउँदै आएको छ ।