लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबिच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराए । उनले संघीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताए ।
उनले नेपाल–बेलायतबिचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै, पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष र अप्रत्यक्ष जटिलता देखा परेको र त्यसले प्रशासनिक तथा भौतिक संरचनामा असर पारेको बताए ।
संघीयतालाई बलियो बनाउने, जनतासँग जोडिएका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सुशासन प्रवर्द्धनका क्षेत्रमा आपसी सहकार्यको आशा गरिएको उनको भनाइ थियो।
मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख रहेको जानकारी दिँदै चालु आर्थिक वर्षको लागि विनियोजन भएको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गर्नुपरेको जानकारी गराए।
सो अवसरमा बेलायती दूतावासका प्रतिनिधि एन्ड्रु लङले नेपाल र बेलायतबिचको सम्बन्ध अझ सुदृढ बनाउने र दुबै सरकार मिलेर सुशासन, विकास र संघीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।