आइजिपीद्वारा नगरकोटस्थित प्रहरी कार्यालयको भवन उद्घाटन

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार उद्घाटन गरेका छन्। कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरे। 

नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आमनागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीकसमेत भएको उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले उल्लेख गरे। नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबिचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उनको छ। 

प्रहरी महानिरीक्षक खापुङले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरीप्रति नागरिहरूको ठुलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी-कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पादान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद मन्तव्य दिएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए। 

 नेपाल सरकारको नियमित बजेटबाट कुल ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रुपैयाँ २२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो।
 

सुझावित समाचार