ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवं सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्त्वपूर्ण मोडमा पुगेको बताए।
‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धका साथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु—नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्,’ उनले भने।
मन्त्री घिसिङले नेपालको जलविद्युत् दक्षिण एसियाकै स्वच्छ ऊर्जा रूपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोतको रूपमा रहेको बताए। नेपालको जलविद्युत् यस क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्त्वपूर्ण स्रोत रहेको उनको भनाइ छ।
जलविद्युत् उत्पादन देशको विकासलाई मात्र नभई दक्षिण एसियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको भिजन रहेको उल्लेख गर्दै घिसिङले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माणका काम भइरहेको बताए।
झन्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले उल्लेख गरे।
सीमापार ऊर्जा सहकार्य नेपालको स्वच्छ ऊर्जा भिजनको मुटुमा रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युतको प्रभावकारी क्षेत्रीय एकीकरण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)मा आबद्ध मुलुकहरूबिचको पूर्ण आबद्ध ग्रिडको जग बसाल्न नेपाल–भारत मात्र नभई भारत–बंगलादेशबिचको प्रसारण पूर्वाधार पनि सुदृढ गर्न अत्यावश्यक रहेकोमा जोड दिए।