देशभरि अचानक मौसममा आएको बदली र आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना मध्यनजर गर्दै किसानलाई कृषकर्म गर्दा विशेष सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको छ ।
पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई दिन देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले मौसमको पूर्ण जानकारी नलिई तत्कालका लागि कुनै पनि कृषि कार्य नगर्न किसानलाई सुझाएको छ । विशेष गरी धान काट्ने र बिउ भण्डारण गर्ने कार्यमा सचेत रहन भनिएको छ ।
भोलि बुधबारसम्म पानी पर्ने सम्भावना रहेकाले धान काट्ने कार्य केही दिनका लागि स्थगित गर्न र यदि धान काटिसकेको छ भने धान र पराल सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरिएको छ । त्यस्तै, तरकारी, तोरी र आलुको बिउ छर्ने वा रोप्ने किसानलाई बिउ छर्नु वा रोप्नुअघि सतर्कता अपनाउन र विशेष ध्यान दिन भनिएको छ ।
कृषि मन्त्रालयले सम्भावित क्षतिबाट बच्न किसानलाई स्थानीय सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालमार्फत पनि यस्ता सचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको छ ।