अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन ऊर्जामन्त्री भारतमा

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा भाग लिन नयाँदिल्ली प्रस्थान गरेका छन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०–१३ कात्तिकमा हुनेछ ।

आइएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जामन्त्री र प्रतिनिधिबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मुख्य–विशेष सम्बोधन गर्नेछन् ।

सन् २०१५ को नोभेम्बरमा पक्ष राष्ट्रले आफ्ना आवश्यकताअनुरूप सौर्य ऊर्जाको अभिवृद्धि गर्ने साझा चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्ने उद्देश्य राखी आइएसएसम्बन्धी पेरिस घोषणा जारी भएको थियो ।

सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गरी आवश्यक पर्ने एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्न र भविष्यमा प्रयोग हुने प्रविधिअनुकूल मार्गनिर्देश गर्नेलगायतका काम गर्न आइएसए स्थापना भएको थियो । 

सुझावित समाचार