सुत्केरीको मृत्युपछि किस्ट अस्पताल क्षेत्रमा तनाव

मृतकका आफन्तले अस्पताल तोडफोड गर्न थालेपछि अश्रुग्यास प्रहार

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

ललितपुरको इमाडोलमा रहेको किस्ट मेडिकल कलेजमा सुत्केरीको मृत्यु भएपछि आक्रोशित आफन्तहरू तोडफोडमा उत्रिएका छन् । सोमबार बिहानैदेखि अस्पतालपरिसरमा आफन्तहरूले नाराबाजी गर्दै ढुंगामुढा प्रहार गरेका हुन् ।

आक्रोशित समूह अस्पतालभित्र प्रवेश गर्न थालेपछि जिल्ला प्रहरीपरिसर ललितपुरले ठुलो संख्यामा प्रहरी खटाएको थियो । प्रहरीले बल प्रयोग गर्दै आफन्तलाई अस्पतालबाट बाहिर निकालेको थियो । आन्दोलनकारीलाई तितरबितर पार्न १० राउन्ड अश्रुग्याससमेत प्रहार गरिएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले अस्पताल बन्द हुनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने र उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । सोमबार दिनभरि आफन्तहरूले अस्पतालआसपासमा नाराबाजी गरेका थिए ।

  • मृतकका दाइ राजेश राई भन्छन्–अस्पतालको हेलचेक्र्याइँले  बहिनीको मृत्यु भएको हो । उनीहरूले सुत्केरी भएपछि पनि पाठेघरसम्म हात हाल्ने गरेका कारण अत्यधिक रगत बग्यो, अन्तिम अवस्थामा बल्ल भेन्टिलेटरमा लग्यो । तर हामीलाई सुरुमा जानकारी दिएन ।

अस्पतालमा प्रसूति गराउन आएकी खोटाङकी मीना राईको शुक्रबार मृत्यु भएको थियो । गर्भवती भएदेखि उनले सोही अस्पतालमा चेकजाँच गराउँदै आएकी थिइन् । डेलिभरी डेट आएपछि उनी बिहीबार बेलुकी अस्पताल भर्ना भइन् । शुक्रबार बिहान उनको डेलिभरी भयो । नवजात शिशुको अवस्था राम्रै भए पनि आमाको भने अत्यधिक रक्तश्राव भएको थियो । शुक्रबार बच्चा जन्मिएलगत्तै बिहानैदेखि रक्तश्राव भएको उनका दाइ राजेश राईले बताए । अस्पतालसँग सुत्केरीको अवस्था बुझ्न खोज्दा लुकाइएको उनको भनाइ छ ।

राईका अनुसार भेन्टिलेटरमा लगेपछि पनि अस्पतालले आफन्तहरूलाई सुत्केरीको अवस्थाबारे निकै ढिलो जानकारी गराएको थियो । ‘अस्पतालले मेरी बहिनीको हत्या गरेको छ, हामीले उसलाई गाह्रो छ, विशेषज्ञ चिकित्सकलाई अलि ख्याल गरिदिन भन्नुहोस् कि हामीलाई विशेषज्ञ चिकित्सकसँग भेटाइदिनुस् एकपटक कुरा गर्छौँ भनेका थियौँ, तर अस्पताल प्रशासनले बेवास्ता गर्यो,’ उनले भने, ‘अस्पतालको हेलचेक्र्याइँले  बहिनीको मृत्यु भएको हो । उनीहरूले सुत्केरी भएपछि पनि पाठेघरसम्म हात हाल्ने गरेका कारण अत्यधिक रगत बग्यो, अन्तिम अवस्थामा बल्ल भेन्टिलेटरमा लग्यो । तर हामीलाई सुरुमा जानकारी दिएन ।’ 

राईका अनुसार अस्पताल प्रशासनले सुत्केरीको मृत्यु भएको विषयमा आफन्तसँग वार्ता बस्नुको साटो उल्टै धम्क्याउने गरेको छ । प्रहरी तैनाथ गरेर कमजोरी लुकाउन खोजिएको भन्दै आफन्तहरू सोमबार बिहानैदेखि जम्मा भई तोडफोडमा उत्रिएका थिए ।

सिकारु स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ गरेकाले मीना राईको मृत्यु भएको आफन्तको आरोप छ । हाल शिशुलाई अस्पतालमै राखिएको छ । आफन्तले मृतक राईको शव बुझ्न मानेका छैनन् । अस्पताल प्रशासन झन्झन् पन्छिन थालेपछि मृतकका आफन्तहरू आक्रोशित बनेका छन् । 

सोमबार बेलुकी मृतकका आफन्त पक्षका केही व्यक्तिसँग छलफल भए पनि सहमति भने हुुन सकेन । आफन्तले मृतक राईका दुईवटा बच्चालाई पठनपाठनलगायत पालनपोेषणमा सहयोग गर्नुपर्ने, आर्थिक क्षतिपूर्ति दिनुपर्ने र सम्बन्धित चिकित्सकलाई कारबाही गर्नुपर्ने अडान लिएका छन् । ‘यो निकै ठुलो विषय भइसक्यो, सोमबार साँझ आफन्तसँग वार्तामा बस्यौँ, तर उहाँहरू सहमतिमा आउने कुरा गर्नुहुन्न,’ अस्पतालका प्रशासक अमिष पाठकले भने, ‘हामी अब जसरी पनि यो विषय समाधान गर्छौँ, मृतकका आफन्तको चित्त बुझाउँछौँ ।’ अस्पताल प्रशासनले मृतकको चेकजाँचका अन्य रिपोर्टसमेत आफन्तलाई दिन मानेको छैन ।

सुझावित समाचार