नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्समा अनुबन्ध

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

कर्णाली याक्स स्पोर्टस् प्रालिले नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर अनुबन्ध गरेको जानकारी गराएका छन्। 

यसअघि कर्णाली याक्सले पहिलो विदेशीमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र दोस्रो विदेशीको रूपमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो। 

‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौँ,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन्। त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ।’ 

कर्णालीले बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडले पहिलोपटक एनपिएल खेल्दै छन्।
 
३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० खेल खेलिसकेका छन्। जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन्। उनले एक शतकसहित १६ अर्धशतक बनाएका छन्। 

कीर्तिपुरको मैदानमै उनले मलेसियाविरुद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक एक सय ३३ रन बनाएका थिए। उनले नेदरल्यान्ड्सको लागि ६५ एकदिवसीय खेलमा दुई हजार १५३ रन बनाइसकेका छन्। 

दोस्रो संस्करणका लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दै छ। 

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्। 

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।

सुझावित समाचार