जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये ८० प्रतिशतको पृष्ठभूमि आपराधिक

हालसम्म देशभरबाट २४६ पक्राउ, काठमाडौं उपत्यकाबाट मात्रै १८९ समातिए

सोमबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

असोजको अन्तिम साता सरकारी अड्डामा अर्जुन शाहीको आतंक छायो । उनी युट्युबरसँगै विनाअनुमति सरकारी अड्डा छिर्थे । ‘जेन–जी प्रतिनिधि हुँ’ भन्दै कर्मचारीको हुर्मत लिन्थे । हाकिमे शैलीमा कर्मचारीलाई तथानाम निर्देशन दिन्थे । आतंकित कर्मचारी भने प्रतिक्रियाविहीन हुन्थे । 

एक सातासम्म चलेको उनका बेलगाम हर्कतमा तागतको स्रोत थियो, जेन–जी आन्दोलनपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथलगत्तै खिचेको भाइरल फोटो । जहाँ ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङ र प्रधानमन्त्री कार्कीसँग शाही हात उठाएको पोजमा देखिन्छन् । सोही फोटो देखाउँदै शाही सरकारी अड्डामा विनारोकतोक प्रवेश गर्थे ।

र, युट्युबमा लाइभ राखेर हाकिमलाई थर्काउँथे । हाकिम थर्काएर रातारात चर्चामा आएपछि शाहीको विगत खोजी हुन थाल्यो । यही क्रममा उनीविरुद्ध प्रहरीमा मात्रै चेक बाउन्स र ठगीका आठ मुद्दा दर्ता भएको खुल्यो । जसमध्ये चार मुद्दा त प्रहरी वृत्त स्वयम्भूमै परेको रहेछ । अझ रोचक कुरा उनकै नेतृत्वमा २४ भदौमा स्वयम्भु वृत्तमा आगजनी भएको रहेछ । प्रहरीका अनुसार स्वयम्भू वृत्त मात्रै होइन, उनको समूह त्यसबाहेकका सार्वजनिक संरचना आगजनी गर्नमा पनि सहभागी भएको देखिएको छ । 

जेन–जी आन्दोलनका क्रममा सिंहदरबारको पश्चिम गेटअगाडि सम्राट भनिने राजु परियार एसएलआर हतियारसहित अर्धनग्न अवस्था देखिए । सो हतियार प्रहरीबाट लुटिएको थियो । २४ भदौ दिनभरजसो उनले विभिन्न पोजिसनमा हतियारसहितको फोटो खिचे । र, बेलुका सँगै लिएर गए । हतियार खोजी गर्ने क्रममा प्रहरीले ३६ वर्षीय परियारलाई ललितपुर महानगरपालिका– १३ कुसुन्तीबाट पक्राउ गर्यो । अनुसन्धानपछि खुल्यो– उनीविरुद्ध प्रहरी कार्यालयमा त्यसअघि नै ठगी, बैंकिङ कसुर, ज्यान मार्ने उद्योग र अभद्र व्यवहारजस्ता आठवटा मुद्दा दर्ता भएका रहेछन् । सबैमा उनी फरार रहेछन् । प्रहरीका अनुसार उनले लुटेका हतियार अझै बरामद हुन सकेका छैनन् । 

आन्दोलनकै दिन २४ भदौमा दोलखा शैलुङ गाउँपालिका– १ का ४८ वर्षीय गौतम घिसिङ नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा आगजनीमा मात्रै सरिक भएनन्, बर्दी उतार्न लगाएर प्रहरीलाई नांगै बनाए । प्रहरीको हतियार लुटे । र, लाइनमा राखेर हात उठाउँदै सबैलाई सडकमा मार्च गर्न लगाए । हतियारसहित पोजिसन लिएको भइरल फोटोका आधारमा प्रहरीले उनलाई पक्राउ गर्यो ।

अनुसन्धानमा क्रममा खुल्यो– उनीविरुद्ध बैंकिङ कसुरका दुईवटा मुद्दा प्रहरी वृत्त गौशालामा दर्ता भएका रहेछन् । जसमध्ये एउटा ४ असोज ०७९ र अर्को १० फागुन ०७९ मा दर्ता भएको थियो । राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनी पूर्वमाओवादी लडाकु हुन् । उनको दल निर्वाचन आयोगमा समेत दर्ता भएको छ । जसको अध्यक्ष रुद्रजंग पुलामी हुन् । 

२३ भदौको जेन–जी प्रदर्शन भड्काउन टिओबी (टिब्बटेन ओरिजिनल ब्लड)का प्रमुख दावा तेन्जिङ समूहको मुख्य भूमिका थियो । अनुसन्धानका क्रममा प्रहरीले उनलाई पक्राउ गर्यो । यस क्रममा उनी पनि सरकारी छाप किर्तेमा संलग्न रहेको खुलेको छ । प्रहरीका अनुसार उनले किर्ते कागजातका आधारमा नेपाली नागरिकता लिएको खुलेको छ । जसको अनुसन्धान प्रहरीले अहिले गरिरहेको छ ।

आन्दोलनकै क्रममा गत २४ भदौको अपराह्न महाराजगन्ज वृत्तमा कार्यरत असइ मिलन राय र प्रहरी जवान उत्तम थापामाथि सांघातिक हमला भयो । हमलामा उत्रिएको थियो– २८ वर्षीय युवराज क्याप्छाकी, २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल तामाङ, ६२ वर्षीय होमप्रसाद पौडेल, २८ वर्षीय टीकाराम विकलगायतका समूह ।

उनीहरूको समूहले असइ राय र जवान थापालाई कुटीकुटी हत्या मात्रै गरेन, प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्यो । हत्यामा संलग्नमध्ये प्रहरीले पौडेल, विक, तामाङ र क्याप्छाकीलाई पक्राउ गर्यो । अनुसन्धानका क्रममा खुल्यो– माओवादी द्वन्द्वकालमा उनको माओवादी लडाकु भन्दै प्रहरीले आँखा फुटाइदिएको रहेछ । सिन्धुपाल्चोक त्रिपुरासन्दरी गाउँपालिका– ४ का उनी सोही घटनाको बदला लिन प्रहरीविरुद्ध आक्रामक भएका रहेछन् । 

जेन–जी आन्दोलनका क्रममा भएका हत्या, लुटपाट र आगजनीपछि पक्राउ पर्नेमाथि उल्लेखित चारै व्यक्ति फरक–फरक पृष्ठभूमिबाट आएका हुन् । उनीहरूका पारिवार, जन्मेको ठाउँ र उमेर पनि फरक छ । तर, उनीहरूमा एउटा पक्ष भने समान छ । त्यो हो, आपराधिक पृष्ठभूमि । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २४ भदौयता आगजनी, लुटपाट, तोडफोड र हत्या अनुसन्धानका क्रममा काठमाडौंमा मात्रै प्रत्येक दिन कम्तीमा १५० जनामाथि सोधपुछ चल्छ । त्यसमध्ये तीनदेखि पाँचजना पक्राउ पर्छन् । उनीहरूमध्ये ८० प्रतिशतको पृष्ठभूमि आपराधिक देखिएको छ । यो तथ्यलाई काठमाडौं परिसरका प्रवक्ता एसपी पवन भट्टराईले पनि स्वीकार गरेका छन् । 

२३ र २४ भदौमा भएका विध्वंशमध्ये हत्या, लुटपाट, आगजनी र तोडफोडलाई प्रहरीले अनुसन्धानको अग्रस्थानमा राखेको छ । अहिले प्रहरीको हत्या र उसका संरचनामाथि भएका आगजनी, तोडफोड र हतियार लुटपाटका घटनामाथि अनुसन्धान जारी छ । निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएका आगजनी, तोडफोड, लुटपाटमा भने प्रहरीले अनुसन्धान अघि बढाएको छैन । तर, मुचुल्का विवरण र आवश्यक सूचना भने संकलन गरेर राखेको छ । काठमाडौं परिसरका प्रवक्ता भट्टराईले भने, ‘अहिले गर्नैपर्ने विषयवस्तुको मात्रै अनुसन्धान भएका छन् । बाँकी विषयवस्तुको मुचुल्का संकलन भएका छन् । अनुसन्धानका लागि आवश्यक सूचना संकलन गरिएका छन् । त्यसमा पनि अब अनुसन्धान हुन्छ ।’

 प्रहरीको हत्या गर्ने र कार्यालय   जलाउने ६ जना जेल चलान
अनुसन्धानका क्रममा काठमाडौं परिसरले मात्रै १०६ जना पक्राउ गरेको छ । जसमध्ये ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जेल चलान गरिएकाहरू होमप्रसाद पौडेल, टीकारम विक, बुद्धिलाल तामाङ, युवराज क्याप्छाकी, रोहित सरावगी र नीरज पोद्दार हुन् । उनीहरूमध्ये पौडेल, विक, तामाङ र क्याप्छाकी प्रहरी हत्यामा संलग्न भएका अभियुक्त हुन् भने सरावगी र पोद्दार विशाल बजारस्थित जनसेवा प्रहरी वृत्तमा आगजनी गर्ने अभियुक्त हुन् । २८ जनामाथि अनुसन्धान जारी छ भने बाँकी ७२ जनालाई हाजिर जमानीमा राखिएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले २४ र भक्तपुर परिसरले ११ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ८० प्रतिशतको पृष्ठभूमि आपराधिक देखिने काठमाडौं परिसरका प्रवक्ता एसपी भट्टराईको भनाइ छ । ‘२३ र २४ भदौमा भएको तोडफोड, आगजनी, हत्या, लुटपाटजस्ता घटनामा संलग्न अभियुक्त खोजी गर्ने क्रममा काठमाडौंमा मात्रै प्रत्येक दिन १५० जनासँग सोधपुछ हुन्छ । त्यसमध्ये दुई–तीनजना पक्राउ पर्छन् । उनीहरूमध्ये ८० प्रतिशतको पृष्ठभूमि आपराधिक देखिन्छ,’ उनले भने ।

काठमाडौं उपत्यकाभित्र पक्राउ परेकाहरूको हकमा मात्रै होइन, देशका विभिन्न स्थानबाट पक्राउ परेकाको हकमा पनि समान नै देखिन्छ । नेपाल प्रहरीका अनुसार जेन–जी आन्दोलनका क्रममा भएका हत्या, आगजनी, तोडफोड र लुटपाटका घटनासँग जोडिएका २४६ जना पक्राउ परेका छन् । उनीहरूमध्ये अधिकांशको पृष्ठभूमि आपराधिक देखिने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए ।

‘जेन–जी आन्दोलनका क्रममा भएका हत्या, आगजनी, तोडफोड र लुटपाटका घटनासँग जोडिएका अभियुक्त पक्राउ पर्ने क्रम जारी छ । यस क्रममा देशभरबाट २४६ जना पक्राउ परेका छन् । उनीहरूमध्ये अधिकांशको पृष्ठभूमि आपराधिक नै देखिन्छ । अर्थात् उनीहरू विगतमा कुनै न कुनै आपराधिक घटनामा जोडिएका छन्,’ उनले भने ।

 लुटिएका चार सय थान हतियार अझै बाहिर 
जेन–जी आन्दोलनका क्रममा लुटिएकामध्ये चार सय थान हतियार अझै फेला पर्न सकेका छैनन् । आन्दोलनमा प्रहरीका एक हजार पाँच सय थान हतियार लुटिएका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अपरेसनपछि एक हजार एक सय थान हतियार बरामद भइसकेका छन् । तर, चार सय थान हतियार अझै फेला पर्न नसकेको प्रहरीको भनाइ छ । ‘आन्दोलनमा १५ सय हतियार लुटिएका थिए । त्यसमध्ये केही जलेको अवस्थामा भेटिए । करिब एघार सय थान हतियार बरामद भए । तर, चार सय थान हतियार अझै फेला परेका छैनन् । खोजीकार्य तीव्र पारिएको छ । सूचना संकलन कार्य जारी छ,’ प्रहरी स्रोतले भन्यो ।

एसपी पवन भट्टराई
 प्रवक्ता, काठमाडौं प्रहरी परिसर

बाँकी विषयवस्तुको मुचुल्का संकलन भएका छन् । अनुसन्धानका लागि आवश्यक सूचना संकलन गरिएका छन् । त्यसमा पनि अब अनुसन्धान हुन्छ । २३ र २४ भदौमा भएको तोडफोड, आगजनी, हत्या, लुटपाटजस्ता घटनामा संलग्न अभियुक्त खोजी गर्ने क्रममा काठमाडौंमा मात्रै प्रत्येक दिन १५० जनासँग सोधपुछ हुन्छ । त्यसमध्ये दुई–तीनजना पक्राउ पर्छन् । उनीहरूमध्ये ८० प्रतिशतको पृष्ठभूमि आपराधिक देखिन्छ ।
 

सुझावित समाचार