मनाङ र कास्कीमा लेक लागेर चारजनाको मृत्यु, एक विदेशीको उद्धार

हिमाली क्षेत्रमा केही दिन हिमपातको सम्भावना, पदयात्रामा निस्कनुअघि पूर्वसूचना लिन अपिल

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

 मनाङ र कास्की जिल्लाका उच्च हिमाली क्षेत्रमा लेक लागेर शनिबार मात्र चारजनाको मृत्यु भएको छ। कञ्चनजंघा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर बिरामी भएका एकजना स्पेनी नागरिकलाई  हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मनाङमा तीन र कास्कीमा एकजनाको मृत्यु भएको हो। नार्पाभूमि गाउँपालिकामा लेक लागेर ४४ वर्षीय राम थापामगरको लेक लागेर मृत्यु भएको हो। उनी नार्पाभूमिकै फु गाउँबाट फर्किने क्रममा लेक लागेर बिरामी परेका थिए। तर, केरेला होटेलमा बास बसेका वेला मृत्यु भएको हो। 

त्यस्तै, पर्यटकको भारी बोेकेर फर्कने क्रममा  नार्पाभूमि– ४ मा लेक लाग्दा डिलबहादुर गुरुङको ज्यान गएको छ। लेक लागेर बिरामी भएका उनलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लगिएको थियो। नार्पाभूमि– ४ मै याकखर्कमा पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर साम्बा घलेको ज्यान गएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका– ११मा लेक लागेर ट्रेकिङमा गएका सुरजमान श्रेष्ठको ज्यान गएको छ। अन्नपूर्ण क्षेत्रमा ट्रेकिङमा गएको उनको भ्यु प्वाइन्ट होटेलमा ज्यान गएको हो।

प्राधिकरणकी प्रवक्ता एवं उपसचिव शान्ति महतले विज्ञप्ति जारी गर्दै पर्वतारोहण, पदयात्रामा जाँदा सचेतना अपनाउन आग्रह गरेकी छिन्। साथै उच्च पहाडी तथा हिमाली जिल्लाका जिल्ला सुरक्षा समिति, स्थानीय तह, सम्बन्धित पर्यटन व्यवसायीलगायत सम्बद्ध सबै पक्षले मौसम पूर्वानुमान एवं यस प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक भूमिका निर्वाह गरी नागरिकको जीवन रक्षामा योगदान पुर्‍याउनुहुनसमेत प्राधिकरणले अनुरोध गरेको छ।

सुझावित समाचार