कैलालीमा धान खरिदको प्रक्रिया तत्काल सुरु गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्थानीय प्रशासनसहित सरोकारवालाले आग्रह गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र धान खरिदको कोटा बढाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको हो ।
खाद्यले कैलालीमा धान खरिद अझै सुरु गरेको छैन । जसले गर्दा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गरिरहेका छन् । यहाँ सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा नौ सय रुपैयाँ कमसम्ममा धान खरिद–बिक्री हुन थालेपछि किसान मारमा परेका छन् ।
सरकारी स्वामित्वको खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएको छ । खाद्यले धान खरिद सुरु गरेपछि व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् । खाद्यले कैलालीको सत्ती, टीकापुर, जोशीपुर, भजनी, गौरीगंगा र धनगढीको मोहनपुर गरी ६ ठाउँमा डिपो राखेर धान खरिद गर्ने गरेको छ ।
गत शुक्रबार बसेको बैठकले किसानलाई पायक पर्ने गरी खरिद केन्द्रको संख्या बढाउन पनि खाद्यलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । कृषक, व्यापारी, राजनीतिकर्मीसहितको बैठकले कैलालीका किसानलाई परम्परागत मोटो धानको विकल्पमा बजारको मागअनुसार मसिनो धान उत्पादनलाई प्रोत्साहन गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि स्थानीय सरकार र सरोकारवाला निकायलाई आग्रह गर्ने निर्णय गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले खरिद केन्द्रमा धान खरिदको तयारी भइरहेको बताए । केन्द्रले कोटा निर्धारणसहितको परिपत्र पठाएलगत्तै खरिद सुरु गरिने उनले जानकारी दिए । ‘हामीले खरिद केन्द्रहरूमा तयारी गरेका छौँ । केन्द्रबाट परिपत्र आएपछि खरिद सुरु गर्छाैँ,’ उनले भने, ‘यसैको ११–१२ गतेतिरबाट खरिद सुरु होला ।’ कति मात्रामा धान खरिद गर्ने भनेर केन्द्रले कोटा निर्धारण गर्ने गरेको उनले बताए ।
सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ । तर, कैलालीमा मोटो धान प्रतिक्विन्टल दुई हजार ५५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।